न्यूनतम पारिश्रमिकबारे आदेश सच्याउन पत्रकार महासङ्घकाे माग

न्यूनतम पारिश्रमिकबारे आदेश सच्याउन पत्रकार महासङ्घकाे माग

काठमाडौँ, २८ माघ  ।नेपाल पत्रकार महासङ्घले सर्वोच्च अदालतले श्रमजीवी पत्रकार ऐन, २०५१ अनुरुप वृद्धि भएको न्यूनतम पारिश्रमिकसम्बन्धी सरकारी निर्णय तत्कालका लागि रोक्न दिएको अन्तरिम आदेश तत्काल सच्याउन माग गरेको छ ।

ऐनमा भएको व्यवस्थाबारे अध्ययन नै नगरी अदालतले अन्तरिम आदेश दिएको भन्दै तत्काल नसच्याए महासङ्घले दबाबमूलक सङ्घर्षका कार्यक्रम गर्ने अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो । अदालतले यही माघ २१ गते श्रमजीवी पत्रकार ऐन अनुरुप वृद्धि भएको न्यूनतम पारिश्रमिकसम्बन्धी सरकारी निर्णय तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको थियो ।

अध्यक्ष आचार्यले रासससँग कुरा गर्दै भन्नुभयो, “ऐनअनुसार वृद्धि भएको न्यूनतम पारिश्रमिक खास गरी ठूला मिडियामा लागू भए÷नभएकाबारे आजदेखि अनुगमन शुरु भएको छ, यदि कार्यान्वयन नभएको पाइएमा महासङ्घले सघर्ष गर्नेछ ।” सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक ऐनले किटान गरेअनुरुप नै हुनुपर्ने महासङ्घको माग छ । रासस