

काठमाडौँ, २७ माघ । नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा वीरगञ्जमा रहेको उद्यानको नाम परिवर्तन गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरिएको छ ।
काङ्ग्रेस केन्द्रीय कार्यालयले आज पत्रकार सम्मेलन गरी सो सम्बन्धी पूर्वनिर्णयलाई तत्कालै यथास्थिति मै कायम राख्न र यथाशिघ्र बीपी उद्यान निर्माण प्रक्रिया अघि बढाउन सम्बन्धित पक्षसँग मागसमेत गरेको छ ।काङ्ग्रेसले बीपीको नाममा वीरगञ्जमा गर्ने निश्चित भएको बीपी उद्यानको नाम परिवर्तन गर्ने प्रयत्नका साथ प्रदेश नं २ सरकारका मुख्यमन्त्रीले शिलान्यास कार्यक्रम गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको यही माघ २४ गते बसेको बैठकले सो सम्बन्धमा गरेको निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न बीपीको नामको मात्र नभई नियत र निषेधको राजनीतिको हो भनी टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “बीपीको नाममा उद्यान निर्माण गर्न १० विगाह जग्गा खरीद भइसकेको र प्रक्रिया अघि बढेको तथ्य नजरअन्दाज गरेर प्रदेश नं २ ले अर्कै नाममा पार्क निर्माण गर्न गत माघ १६ गते शिलान्यास गर्नु दुःखद हो ।”
नेपाल यातायात संस्थान र वीरगञ्ज उपमहानगरपालिकाबीच रु १० करोडमा सो जग्गा खरीद बिक्री सम्झौता भई उपमहानगरपालिकाको नाममा जग्गा पास भएको थियो । विसं २०६० पुुस २४ गते जारी जग्गा धनीपूर्जामा मन्त्रिपरिषद्को २०६० कार्तिक २७ को निर्णय बमोजिम उपमहानगरपालिकाले बेचबिखन एवं हक हस्तान्तरण गर्न नपाउने र बीपी उद्यानबाहेक अन्य कुनै पनि प्रयोजनमा प्रयोग गर्न नपाउने उल्लेख छ ।
तत्कालीन श्रम तथा यातायातमन्त्री डा प्रकाशचन्द्र लोहनीले एक समारोहका बीच वीरगञ्जमा बीपी उद्यानको शिलान्याससमेत गर्नुभएको थियो । प्रवक्ता शर्माले बीपीका नाममा उद्यान निर्माण गर्ने उद्देश्यका साथ जग्गा प्रबन्ध भई बीपी उद्यानकै नाममा शिलान्यास समेत भइसकेको लगायत तथ्य नजर अन्दाज गरेर अघि बढ्ने प्रयास गरिएको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो ,“पुरानो निर्णय बमोजिमकै प्रक्रियामा अघि बढ्न तिनै तहको सरकारलाई काङ्ग्रेस गम्भीर ढङ्गले सचेत गराउन चाहन्छ ।” उक्त कार्यलाई तत्काल सच्याउन आग्रह गर्दै अन्यथा संसद्देखि सडकसम्म कडा दबाबको सामना गर्नुपर्ने चेतावनी दिनुभयो ।
१) नेपाल यातायात संस्थानले वीरगंजमा रहेको आफ्नो दश विगाहा जग्गा विक्री गर्न टेण्डर आव्हान गरेको थियो । व्यक्तिले खरिद गर्ने निश्चित भएपछि, वीरगंज उपमहानगरपालिकाले त्यसमा प्रष्ट विमति जनायो । उपप्रमुख श्री अजय द्विवेदीको नेतृत्वमा नेपाली कांग्रेस, तत्कालिन नेकपा (एमाले), राप्रपा, सद्भावना लगायतका राजनैतिक दल एवं उद्योग वाणिज्य संघ वीरगंजको सहभागितामा वृहत प्रदर्शन भएको थियो भने सोही समय नगर प्रमुख श्री माधवलाल श्रेष्ठको नेतृत्वमा वीरगंजको प्रतिनिधि मण्डल प्रधानमन्त्रीलाई भेट्न काठमाण्डौं पुग्यो ।
२) तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विरगंजवासीको भावना बुझेपछि आश्वासन दिनु भयो ‘त्यो जग्गा उपमहानगरपालिकाको हुनेछ र तपाईहरुको प्रस्ताव बमोजिम त्यहाँ वीपी उद्यान बनाउने घोषणा म आफै विरगंज आएर गर्नेछु’ । नगरपरिषद उद्घाटन गर्न उहाँ पुग्नु भयो र घोषणा गर्नु भयो ‘यातायात संस्थानको जग्गा उपमहानगरपालिकाले खरिद गरेर त्यहाँ वीपी उद्यान निर्माण गरिनेछ’ ।
३) नेपाल यातायात संस्थान र वीरगंज उपमहानगरपालिकाबीच दश करोड रुपैयामा सो दश विगाहा जग्गा खरिद विक्रीको सम्झौता भयो । पहिलो किस्ताका रुपमा आधा रकम रुपैया पाँच करोड उपमहानगरपालिकाले यातायात संस्थानलाई वुझायो । त्यसबेला ०४९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख र उपप्रमुख हुनुहुन्थ्यो ।
४) ०५४ सालको स्थानीय निर्वाचनमा राप्रपाका उम्मेदवार श्री विमल श्रीवास्वत नगर प्रमुखमा निर्वाचित हुनु भयो । यातायात संस्थानलाई तिर्न बाँकी रकम रुपैया पाँच करोड उहाँको कार्यकालमा नगरपालिकाले चुक्ता ग¥यो । तर जग्गा पास गर्ने कार्य वाँकी रह्यो ।
५) ०५९ सालमा शाही कु पश्चात तत्कालिन राजा ज्ञानेन्द्रको नेतृत्वको सरकारले श्री गोपाल गिरीलाई वीरगंज उपमहानगरपालिकाको प्रमुखमा नियुक्त ग¥र्यो । राजाको निरंकुश सत्ताको त्यो समयमा पनि प्रमुख पदमा नियुक्त भएर शपथ ग्रहण लगत्तै गिरी पुग्नु भयो सो जग्गामा र चाँडै नै वीपी उद्यानको नाममा जग्गा पास गरेर निर्णय प्रक्रिया अघि बढाउने उद्घोष वीपी उद्यानकै वोर्ड राखेर गर्नु भयो ।
६) ०६० कार्तिक २७ गते तत्कालीन श्रम तथा यातायात मन्त्री डा. प्रकाशचन्द्र लोहनीले एक समारोहका विच वीरगंजमा वीपी उद्यानको शिलान्यास गर्नु भयो । (सो कार्यक्रम बारे गोरखापत्रमा २०६० कार्तिक २८ गते प्रकाशित समाचारको कटीङ्ग यससंगै उपलव्ध छ,) शिलान्यास भईसक्दा पनि जग्गा उपमहानगरपालिकाको नाममा नामसारी हुन वाँकी नै थियो ।
७) वीपी उद्यान शिलान्यासको दुई महिनापछि वीरगंज उपमहानगरपालिकाको नाममा जग्गाको रजिष्ट्रेशन पास भयो । ०६० पुष २४ गते जारी धनिपुर्जामा लेखिएको छ ‘मन्त्रीपरिषद्को ०६०/७/२७ को निर्णय बमोजिम उपमहानगरपालिकाले वेचविखन एवं हक हस्तान्तरण गर्न नपाउने गरी, वीपी उद्यान वाहेक अन्य कुनै पनि प्रयोजनमा प्रयोग गर्न नपाउने ।
८) वीपी उद्यानका नाममा जग्गा नामसारी गर्ने प्रक्रियाको सकृय नेतृत्व गर्नु भएका तत्कालीन नगरप्रमुख गोपाल गिरीको रहस्यमय ढंगले हत्या वीपी उद्यानको निर्माण प्रयोजनका लागि उपमहानगरपालिकाको नाममा जग्गा पास भएको ठिक एक साता पछि १ माघ २०६० मा भएको थियो । तत्कालीन माओवादीले हत्या गरेको भनिएपनि सो घटना जग्गा पास भएको लगत्तै भएको कोणबाट विश्लेषण गरी गम्भीर र गहिरो छानवीन हुनु पर्ने देखिन्छ ।
९) यसरी वीपी कोइरालाका नाममा उद्यान निर्माण गर्ने उद्देश्यका साथ सोही प्रयोजनका लागि जग्गा प्रवन्ध र सो जग्गा अन्य नाममा प्रयोग गर्न नमिल्ने प्रतिबन्धात्मक व्यवस्था भएको, वीपी उद्यानकै नाममा शिलान्यास भइसकेको यावत तथ्य नजर अन्दाज गरेर अघि बढ्ने दुस्साहस गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । अतः तत्काल पुरानो निर्णय बमोजिमकै प्रक्रियामा अघि बढ्न तिनै तहको सरकारलाई नेपाली कांग्रेस गम्भीर ढंगले सचेत गराउन चाहन्छ ।
१०) प्रश्न एउटा उद्यानको मात्रै होइन, प्रश्न नेपाली राजनैतिक इतिहासका सर्वाधिक प्रिय राजनीतिज्ञको नामको पनि हो तर प्रश्न उहाँको नामको मात्रै होइन मूल प्रश्न वर्तमान नेपाली राजनीतिमा बढ्दै गएको निषेधको प्रवृत्तिको पनि हो । अतः नियतवश गरिएको वीपी नामप्रतिको अवहेलनाको गम्भीर दुस्साहसलाई तत्काल सच्याउन नेपाली कांग्रेस आग्रह गर्दछ । अन्यथा तत्कालै संसददेखि सडकसम्म कडा दबाबको सामना गर्नु पर्ने चेतावनी पनि दिन चाहन्छु ।