आजबाट मौसममा सुधार आउने

आजबाट मौसममा सुधार आउने

काठमाडौँ, २७ माघ । मौसम पूर्वानुमान महाशाखाले आइतबारबाट मुुलुकको मौसममा सुधार आउने जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरबाट आएको दक्षिण पश्चिमी वायुको प्रभावले गर्दा मौसम बदली भई विहीबारदेखि मुलुकभरि वर्षा र हिमपात सुरु भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले भन्नुभयो, “शनिवारबाट नै अहिलेको मौसम प्रणाली कमजोर हुँदै जानेछ र आइतबार विहानबाट नै मुलुकभरि सामान्यतः मौसम सफा रहनुका साथै पानी पर्ने छैन ।”

उहाँले थप्नुभयो, “आइतबारबाट मुलुकभरिको मौसममा सुधार आए पनि दिनको १०ः०० बजेपछि मुलुकको पश्चिमी भूभागमा आंशिक बदलीको अवस्था रहनुका साथै पश्चिमी र मध्य भूभागमा छिटपुट बर्षा हुने सम्भावना छ ।” त्यसैगरी, उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा छिटपुट हिमपात हुन सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

सोमबार दिउँसो मुलुकको पहाडी भूभागमा आंशिक बदली भई एक दुई स्थानमा छिटपुट हिमपात हुने सम्भावना रहेको तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जानकारी समेत मौसमविद् कँडेलले दिनुभयो । त्यसैगरी, सोमबार राति मुलुकको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।