‘विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल’: चित्रबहादुर केसी

‘विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल’: चित्रबहादुर केसी

रासस

खस्यौली, २६ माघ ।  राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भएको बताउनुभएको छ । 

आज बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीकरणलगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र फकर्ने र त्यो पनि नसके निरङ्कुशता ल्याउने प्रपञ्च भएको छ भन्नुभयो ।

अध्यक्ष केसीले सङ्घीय प्रणालीले मुलुक अस्तव्यस्त भएकाले विदेशी हस्तक्षेप बढेको उल्लेख गर्दै गणतन्त्रमाथि कालो बाँदल मडारिएको बताउनुभयो । राजनीतिक दलले हरेक ठाउँमा भागबण्डा गरेर भ्रष्टाचारलाई प्रोत्साहित गरेको आरोप लगाउँदै उहाँले नीतिगत भ्रष्टाचार अहिले झन बढेको दाबी गर्नुभयो ।

मुलुकमा रेमिट्यान्स भित्र्याएर तीन तहको सरकार सञ्चालन नहुने उल्लेख गर्दै अध्यक्ष केसीले सङ्घ र स्थानीय तहबाहेक प्रदेशको कुनै भूमिका नभएको जिकिर गर्नुभयो ।