नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् । विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउावसमक्ष राजीनामा बुझाएका हुन् ।
माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका विनाविभागीय मन्त्री कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले मन्त्री पोख्रेलको नेतृत्वमा राजीनामा बुझाइएको स्वंय मन्त्री गिरिराजमणि पोख्रेललले बताउनुभयो ।
पार्टीको निर्णय अनुसार आफुहरुले राजीनामा दिएको बताउँदै मन्त्री पोख्रेलले अध्यक्ष प्रचण्डले लेखेको पत्र बुझाएको बताउनुभयो । मन्त्री पोख्रेलले भने आफुलाई विनाविभागीय घोषणा भएयताको पारिश्रमिक पनि नलिने घोषणा गरेको बताउनुभयो ।
गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए ।
सामूहिक राजीनामा पत्र यस्तो छ:
नेपालको संबिधानले अंगिकार गरेको संघीय प्रणाली कार्यान्वयन गर्ने सन्दर्भमा २०७४ असोज २ को स्थानीय तथा मंसिर १० र २१ को प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने मूल राजनीतिक कार्यभार पूरा गर्न एउटा विशिष्ट अवस्थामा हाम्रो पार्टी तपाईँले नेतृत्व गर्नुभएको सरकारमा सामेल भएको कुरा सर्बबिदितै छ।
२०७४ असोज १७ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा वाम गठवन्धन अन्तर्गत मिलेर चुनाव लड्ने र चुनावपछि एउटै पार्टी समेत बनाउने समेतको उद्घोष गरेपछि मुलुकमा नयाँ राजनीतिक ध्रुवीकरण पैदा भयो।
त्यो स्थितिमा पनि निर्वाचन सन्पन्न गर्न तपाईंलाई अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भन्ने उधेश्यले हाम्रो पार्टी सरकारमा बसेको थियो। अब निर्वाचन सम्पन्न भइसकेको छ।
संघीय संरचनाअन्तर्गत प्रदेश, संघ र दुई नम्बर प्रदेश्को स्थानीय त्यहाँको सफल चुनाव गराएर यो सरकारले ऐतिहासिक महत्वको काम गरेको छ। त्यसका लागि हामीले तपाईंलाई बधाई पनि दिइसकेका छौ।
निर्वाचन सम्पन्न भई ताजा जनादेश समेत आइसकेको स्थितिमा प्रधानमन्त्रीबाटै नयाँ जनादेश अनुरुपको सरकार गठनका लागि वातावरण बनाउन अविलम्व पहल हुनेछ भन्ने अपेक्षा राखेका थियौँ। तर, आजसम्म पनि त्यस विषयमा ठोस कदम नचालिएको, बरु ढिलासुस्ती भइरहेको, राजस्वको दुरुपयोग र काम चलाऊ सरकारले गर्न नमिल्ने अतिरिक्त निर्णयहरु पनि भइरहेको सन्दर्भमा अब सरकारमा रहिरहनु औचित्यपूर्ण नदेखिएकाले आजैबाट हामी नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) सम्बद्ध मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारमा नरहेको जानकारी गराउँछौ। साथै सरकारबाट नयाँ जनादेश अनुसार सत्ता हस्तान्तरणमा सहजीकरणको लोकतान्त्रिक भूमिकाको अपेक्षा गर्दछौँ।
प्रचण्ड