

काठमाडौँ, २२ माघ । चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले आज आफ्नो पदबाट राजीनामा दिएकी छिन् ।
पौडेलले बुधबारदेखि लागू हुने गरी आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएको जानकारी बताइन् । उनले भनिन् –‘ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनी मैले यो निर्णय लिएकी हुँ ।’
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित समीक्षा बैठकमा अनुपस्थित भएको भन्दै मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । तर पौडेलले मन्त्रालयको स्पष्टिकरण पत्र आफूले नपाएको बताइन् ।
उनले भनिन्, “मैले बुधबारदेखि लागू हुने गरी राजीनामा दिएकी हुँ ।” पौडेलले आफूले आफ्नो पदबाट राजीनामा दिएको र आगामी दिनमा समाज सेवामा समर्पित हुने बताइन् ।
उनी २०७४ साल मङ्सिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन् । पौडेलले पहिलो पटक बक्स अफिस प्रणालीको शुरुआत गरेको र अन्य केही सकारात्मक कामको समेत थालनी गरेको आफ्नो राजीनामापत्र उल्लेख गरेकी छिन् ।