

काठमाडौं, २१ माघ । नेपाली कांग्रेसले सरकारका गलत क्रियाकलापका विरुद्ध आज देशभर विरोध प्रदर्शन गर्दैछ । ७७ वटै जिल्लामा हुन लागेको विरोधसभाका लागि कांग्रेस शीर्ष तथा केन्द्रीय नेताहरु जिल्ला जिल्लामा पुगिसकेका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको विरोध प्रदर्शनको नेतृत्व गर्दैछन्। महामन्त्री डा. शशाङ्क कोइराला नवलपुरका विरोध सभामा सहभागी हुनेछन्। पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन्।
नेता शेखर कोइराला मोरङको प्रदर्शनमा सहभागी हुनेछन्। युवा नेता गगन थापा पोखराको विरोध सभामा सहभागी हुने छन्। त्यसैगरी केन्द्रिय सदस्य गुरुराज घिमिरे अर्घाखाँचीमा हुने सभामा सहभागी हुदैछन् ।
मुख्य सचिव कृष्ण प्रसाद पौडेलकाअनुसार पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन भने जारी नगरे पनि नेताहरुको अनुकुलमा विभिन्न सभाहरुमा सहभागी हदैछन् । काठमाडौंमा हुने विरोध प्रदर्शन सहरका विभिन्न स्थानबाट निस्केर रत्नपार्कस्थित शान्ति बाटिकामा पुगी सभामा टुंगिने छ। काठमाडौं जिल्ला सभापति सबुज बानियाँकाअनुसार काठमाडौंको सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने तयारी छ ।
उपत्यकामा ललितपुर र भक्तपुर जिल्ला समितिले पनि छुट्टा छुट्टै कार्यक्रम गर्नेछन्। सरकारको विरुद्धमा माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो।