काठमाडौं, २० माघ । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज युएईसंग अन्तिम तथा तेस्रो टी-ट्वान्टी खेल्दै छ । यदि नेपालले आज जित निकालेमा अर्काे इतिहास बनाउने माैका रहेकाे छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउसो २:४५ बजे सुरु हुनेछ । र, घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज जस्तै ऐतिहासिक टी-ट्वान्टी सिरिज जित्ने लक्ष्य हुनेछ ।
घरेलु टोलीसंगको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को अवस्थामा रहेको छ । अन्तिम खेल जित्दै नेपाल पहिलो टी-ट्वान्टी सिरिज जित्न चाहन्छ । यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २-१ ले जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो । युवा खेलाडीहरुले डेब्यु खेलमै राम्रो प्रदर्शन गरेकाले युवा खेलाडीहरु नै अन्तिम खेलमा पनि सहभागी हुने छन् ।
सम्भावित नेपाली टिममा पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, करण केसी, दीपेन्द्रसिंह ऐरी, पवन शर्राफ, सोमपाल कामी, सन्दीप लामिछाने, अभिनास बोहरा टिममा पर्ने छन् । यसैगरी सन्दीप जोरा, रोहित कुमार पौडेल, ललितनारायण राजबंशी र भीम सार्की मध्येबाट बाँकी २ जना खेलाडीले अन्तिम ११ मा स्थान बनाउने छन् ।