काठमाडौँ, १७ माघ।संघीय संसद्का दुबै सदनको बैठक आज बस्दैछ।
अवरोधबीच चिकित्सा विधेयक पारित भएको झण्डै एक सातापछि प्रतिनिधिसभा बैठक बस्न लागेको हो। यस्तै, चिकित्सा विधेयक संशोधनका लागि अनुमोदन गरेर चार दिनपछि राष्ट्रियसभा बैठक बस्न लागेको हो।राष्ट्रियसभामा भने चिकित्सा विधेयकमा प्राप्त संशोधनमा छलफल र पारितको सम्भावित कार्यसूची रहेको छ।
अनशनरत डा. गोविन्द केसीसँग सरकारले गरेका सम्झौता पूर्ण कार्यान्वयन हुनुपर्ने, पार्टीका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका अस्पताल केन्द्र मातहतमा राख्नुपर्ने लगायत माग पूरा हुनुपर्ने भन्दै संसद अवरुद्ध गर्दै आएको कांग्रेसले आजको बैठक पनि अवरुद्ध पार्ने जनाएको छ । सरकारले पेलेर जान खोजेको आरोप लगाउँदै कांग्रेसले आज बोलाइएको प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने जनाएको छ।बैठकपछि बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले आफ्ना मागप्रति सरकार गम्भीर नभएकाले संसद अवरुद्ध जारी राख्नुपरेको बताए ।यस्तै, सभामुखले विधेयक पारितमा प्रचलित मान्यता तोडेको पनि कांग्रेसको आरोप छ।