

एजेन्सी । अमेरिकाले भेनेजुएलामाथि तेलमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले सरकारी तेल कम्पनी पीडीवी एसए माथि प्रतिबन्ध लगाएको हो ।
उसले भेनेजुएलाको सेनालाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण प्रक्रिया स्वीकार गर्न आग्रहसमेत गरेको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनका सहयोगीलाई अब भेनेजुएलाका नागरिकको सम्पत्ति लुट्न दिन नहुने बताउनुभयो ।
तेलमा समृद्ध भेनेजुएला पछिल्ला दिनमा आर्थिक र राजनीतिक संकटबाट गुज्रिरहेको छ । विपक्षी राजनीतिक दलले राष्ट्रपति मदुरोलाई पदबाट हटाउने प्रयासलाई तीव्र पारेका छन् ।
अमेरिकालगायत विश्वका २० भन्दा बढी देशले विपक्षी नेता खुआन गोइदोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको मान्यता दिइसकेका छन् । भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख हुँवा गुएइदोले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भएको छ, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।