कुर्सीमा अवरोध पु-याइए पार्टी नै फुटाइने !

कुर्सीमा अवरोध पु-याइए पार्टी नै फुटाइने !

काठमाडौं । एमालेको संस्थापन पक्षले नयाँ सरकार गठन प्रक्रियामा भइरहेको ढिलाइको मुख्य जिम्मेवार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको ठहर गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र माओवादी अध्यक्ष प्रचण्डबीच अहिले पनि सिधा कनेक्सन रहेको र त्यही कनेक्सनका कारण नयाँ सरकार गठन प्रक्रिया तन्कँदै गएको दाबी एमाले अध्यक्ष खड्गप्रसाद ओलीले आफ्ना निकटस्थहरूसँग गरेका छन् ।

आइतबार प्रकाशित एक दैनिक पत्रिकाको अन्तर्वार्तामा एमाले नेता माधवकुमार नेपालले पनि माओवादी अध्यक्ष प्रचण्डलाई अल्पदृष्टिको नेता भएको बताएका छन् । सरकार निर्माणका लागि दिन लम्बिँदै जाँदा एमाले–माओवादी एकता टाढिँदै गएको छ भने नेताहरूबीच संवाद हुनसमेत छाडेको छ ।

दुई कम्युनिस्ट पार्टीको गठबन्धन र पार्टी एकीकरणमा एमाले इमान्दार नदेखिएको दाबी माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमै गरिसकेका छन् । प्रत्यक्षतर्फको मतगणना परिणाम आउना साथ सार्वजनिक कार्यक्रममै प्रचण्डले भनेका थिए– ‘हामीलाई बाइपास गरी मधेसी दलसँग मिलेर सरकार बनाउने तयारी एमालेका साथीहरूले गरेका छन्, मधेसी दलहरूले संविधान संशोधनको ग्यारेन्टी खोजेकाले कुरा मिलिराखेको छैन,  आखिर हामीसँग मिलेर नै सरकार गठन गर्नुपर्ने बाध्यता एमालेलाई छ ।’ समाचार स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले दुवै मधेसी दलसँग वार्ता अघि बढाएका थिए, तर उनीहरूले संविधान संशोधनलाई बटमलाइन बनाएका कारण कुरा मिल्न सकिरहेको छैन, एमाले र मधेसी दलको मात्रै संविधान संशोधनका लागि दुई तिहाइ बहुमत पुग्ने अवस्था छैन ।  संविधान संशोधनको सुनिश्चितता नभई मधेसी दलहरू सरकारमा सामेल हुने सम्भावना तत्कालका लागि छैन ।

राष्ट्रिय सभाको निर्वाचन बहुमतीय पद्धतिबाट गराउने आफ्नो पार्टीको अडानलाई माओवादीले तुहाई दिएका कारण एमाले अध्यक्ष ओली सशंकित बनेका हुन् । राष्ट्रिय सभाको निर्वाचन बहुमतीय पद्धतिबाट हुने भएको भए राष्ट्रपति र उपराष्ट्रपति पद हात पार्न एमालेलाई अरु पार्टीको सहयोग जरुरी पर्ने थिएन । यो बुझेर नै माओवादीले एकल संक्रमणीय पद्धति हुने गरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई दबाब दिएको हो । एमालेको बार्गेनिङ पावर घटाउने रणनीतिमा जसरी माओवादी छ, त्यसरी नै  माओवादीको बार्गेनिङ पावर घटाउने रणनीतिमा एमाले लागेको थियो ।   एमालेको तुलनामा माओवादीको रणनीति यतिबेला सफल देखिएको छ ।  एमालेले मधेसी दलको सहयोग लिन नसक्ने वातावरण निर्माण गर्ने रणनीतिमा प्रचण्ड सफल भएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि एमाले एक्लैको बहुमत पुग्न नदिने रणनीतिमा पनि प्रचण्ड सफल भइसकेका छन् । अब प्रचण्डको रणनीति राष्ट्रपति पद  तत्काल हात पारिहाल्ने र प्रधानमन्त्री पद सके अहिले नै हात लगाउने तयारी गरेका छन् । यो प्रयास असफल भए एक डेढ वर्षपछि हात पार्ने दिशामा केन्द्रित रहेको छ ।

प्रचण्डको यो खतरनाक रणनीति थाहा पाएपछि एमालेको संस्थापन पक्षले पनि माओवादी पार्टी फोड्ने र फुटेको टुक्रालाई आफ्नो पार्टीमा विलय गराएर बहुमत पु¥याउने रणनीति अवलम्बन गरेको छ । चुनावपछि  प्रचण्डले यस्तो खेल खेल्नेछन् भन्ने आभास एमाले अध्यक्ष ओलीले चुनाव अगाडि नै थाहा पाइसकेको दाबी एमालेका एक केन्द्रीय सदस्यले गरेका छन् । उनले भने– ‘हाम्रो पार्टी अध्यक्ष ओलीले प्रचण्डले यस्तो रणनीति अवलम्बन गर्न सक्छन् भन्ने कुरा पहिले नै थाहा पाइसक्नुभएको थियो, त्यसैले उहाँले माओवादीका केही प्रभावशाली नेताहरूलाई आफ्नै पहलमा टिकट दिएर चुनाव जिताएर ल्याइसक्नुभएको छ । यदि प्रचण्डले धोका दिए भने अग्नि सापकोटा, टोपबहादुर रायमाझी, शक्ति बस्नेतलगायतको टिम ४० प्रतिशत सांसद पु¥याएर माओवादीबाट अलग हुनेछ र हाम्रो पार्टी नेकपा एमालेमा विलय हुनेछ ।’ उनका अनुसार चुनावको टिकट वितरणका क्रममा एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीका माधव नेपाल पक्षधरहरूको टिकट खोसेर माओवादीका केही नेताहरूलाई दिलाएका थिए । उनीहरूलाई चुनाव जिताउन ओली आफैं खटेका थिए । चुनावअघि नै ओलीले  माओवादीका केही नेताहरूसँग यो सहमति गरेको बुझिएकोे छ ।

ओलीको यो रणनीतिबारे प्रचण्ड पनि बेखबर छैनन् । माओवादी पार्टीभित्रका ओली पक्षधरहरूको कुनै पनि हालतमा ४० प्रतिशत पुग्न नदिने र एमालेभित्रको ओली विरोधी समूहलाई आफ्नो पक्षमा प्रयोग गर्ने रणनीति माओवादी अध्यक्ष प्रचण्डले अघि सारेका छन् । जतिसक्दो छिटो पार्टी एकीकरण गर्ने र प्रचण्डलाई प्रगोग गरी ओलीलाई पछार्ने रणनीति एमालेभित्रको नेपाल पक्षले अवलम्बन गरेको छ । यसका लागि प्रचण्डले भरपूर भरथेग गरेका छन् । ‘यतिबेला योगेश भट्टराई, धनश्यम भुसाल, शेरबहादुर तामाङ, रामकुमारी झाँक्रीलगायतले सुरु गरेको सम्पूर्ण गतिविधिको आर्थिक खर्चको चाँजोपाँजो प्रचण्डले नै मिलाएको ओली निकट नेताहरूको दाबी छ,’ स्रोतले बतायो । -तरुण खबरबाट