यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय सिरिज, पारसको शतक

यूएईलाई हराउँदै नेपालले जित्यो एकदिवसीय सिरिज, पारसको शतक

काठमाडौं । नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ । पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेको हाे ।

यससँगै नेपालले तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जित्दै नेपालले ऐतिहासिक सफलता पाएको हो । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो ।

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई ४ विकेटले हराउँदै नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको हो ।

क्रिकेटको सर्वोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपालले पहिलो पटक सिरिज २-१ ले जितेको हो । आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले यसअघि गत असारमा नेदरल्याण्डसंग डेब्यु एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १-१ को बराबरीमा सकीएको थियो ।

कप्तान पारसले शतकीय इनिङस खेलेपछि युएईले दिएको २५५ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कप्तान पारसले ११५ रनको शतकीय इनिङस खेले । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन जोडे ।

त्यस्तै नेपालका लागि सोमपाल कामीले अविजित २६ तथा आरिफ शेखले अविजित २१ रन बनाए । युएईका इमरान हेदर र अस्फाक अहमदले २/२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको युएईले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २५४ रन जोडेको थियो । खराब सुरुवात गरेको युएईका मध्येक्रमका ब्याट्सम्यानले सम्हालिएको खेल प्रदर्शन गर्दा युएईले फराकिलो स्कोर बनाएको हो ।

पावर प्लेमा मात्र १४ रन जोड्न सफल युएईले २ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, शाइमन अनवार र सिपी रिजवानले पाँचौ विकेटका लागि १०० रनको साझेदारी गर्दै गर्दै युएईको स्कोर फराकिलो बनाएका थिए । अर्धशतकीय इनिङस खेलेका अनवार ८७ रनमा आउट भए । रिजवानले ४५ रन जोडेर आउट भए ।

नेपाललाई फराकिलो लक्ष्य दिने क्रममा युएईले अन्तिम २ ओभरमा ४३ रन जोडेको थियो । उसका लागि आक्रामक ब्याटिङ गर्दै मोहमद बुटाले पनि ५९ रनको अर्धशतकीय इनिङस खेले । त्यस्तै युएईका मोहमद उसमान २६ तथा गुलाम सब्बीर १८ रनमा आउट भए ।

कप्तान मोहमद नाभिद ११ रनमा अविजित रहे । नेपालका कप्तान पारस खड्का र करण केसीले २/२ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।