काठमाडौं, १४ माघ । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीसंग अन्तिम तथा तेस्रो एकदिवसीय खेल खेल्दैछ । आईसीसीले नेपाललाई ४ वर्षका लागि मान्यता दिएपछि अहिले नेपालले दोस्रो सिरिज खेलिरहेको छ । नेदरल्याण्ड्सविरुद्धको सिरिज बराबरीमा चित्त बुझाएको नेपाललाई सोमबार नयाँ कीर्तिमान बनाउने अवसर रहेको छ ।
घरेलु टोलीसंग तीन खेलको एकदिवसीय र टी- ट्वान्टी सिरिजका लागि युएई भ्रमणमा रहेको नेपालले सोमबार अन्तिम एकदिवसीय खेल खेल्न लागेको हो ।
दुबईस्थित आईसिसी क्रिकेट एकेडमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ मा सुरु हुनेछ । र, प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोली सिरिज जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलीरहेको नेपाललाई पहिलो एकदिवसीय सिरिज जित्ने अवसर रहेको छ ।
अन्तिम तथा तेस्रो एकदिवसीयमा जित निकाल्न सफल भए नेपालले ऐतिहासिक सफलता पाउने छ । नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज जित्दै इतिहास लेख्नेछ ।
नेपालले खेलेको पहिलो एकदिवसीय सिरिज भने बराबरी भएको थियो । नेपालले गत असारमा नेदरल्याण्डसंग डेब्यु एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १-१ को बराबरीमा सकिएको थियो ।