

काठमाडौं, ११ माघ । नेपाली कांग्रेसले सरकारविरुद्ध सडक र सदनमा संघर्ष गर्ने घोषणा गरेको छ। जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरिएपछि कांग्रेसले सडक र सदनमा संघर्ष गर्ने घोषणा गरेको हो।
संसद बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अधिनायवादी शैलीमा अघि बढेकाले सडक र सदनबाटै संघर्ष गर्ने बताएका हुन्। देउवाले प्रतिपक्षीको भावनालाई नसमेटेर विधेयक पारित गरिएकोमा आपत्ति समेत जनाए।
देउवाले कम्युनिष्ट सरकारले अधिनायकवादी शैलीमा विधेयक पारित गर्न खोज्दा सभामुखले पनि त्यसमा थप भूमिका खेलेको आरोप लगाए।
देउवाले कांग्रेसका पूर्व सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताललाई निमिट्यान्न पार्न खोजेको बताए। सरकार सदनमा तानाशाही रुपमा प्रस्तुत भएकाले अब सडक र सदन संघर्ष जारी राख्ने पनि सभापति देउवाले बताए।
संसदले प्रतिपक्षी कांग्रेसको चर्को विरोधकाबीच अनसनरत डा। गोविन्द केसीका माग विपरित चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेको थियो।