प्रमुख विपक्षी काङ्ग्रेसको अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक पारित

प्रमुख विपक्षी काङ्ग्रेसको अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं, ११ माघ । संसदको प्रमुख विपक्षी नेपाली काँग्रेसको अवरोधकाबीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ । काँग्रेस सांसदहरुले नाराबाजी गरिरहेकौ बेला विधेयक पारित भएको हो ।

काँग्रेसका सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुख कृष्ण बहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिनुभएको थियो । काँग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले सुरक्षाकाबीच रोष्टममा पर्याएका थिए । रोष्टममा पुगेपछि मन्त्री पोखरलेले हात हल्लाउँदै छलफलका लागि विधेयक पेश गर्नुभएको थियो ।

छलफलमा सांसदहरुले भाग नलिई बहुमतका आधारमा विधेयक पारित भएको थियो । यसअघि विधेयक पेश भएपछि रोष्टममा नै पुगेर छलफलमा भाग लिने परम्परा रहेपनि रोष्टम काँग्रेसका सांसदले घेराऊ गरेपछि सत्तापक्षका सांसदले पनि भाग लिएनन् । विधेयक बहुमतले पारित भएपछि काँग्रेसले सडक र सदनमा आन्दोलनको घोषणा गरेको छ । बैठक सकिए लगत्तै काँग्रेस सभापति शेर बहादुर देउवाले सरकार अधिनायकवादी भएको प्रतिक्रिया दिनुभयो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पास भएसँगै डा. गोविन्द केसीको शतप्रतिशत जित भएको दाबी गर्नुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा सांसद भट्टराईले डा. केसीलाई अनसनबाट निस्कन र खुसी मनाउन आग्रह गर्नुभयो ।

संसदको अर्को बैठक १७ गते १ बजे बोलाइएको छ । आफ्ना नेताको नाम रहेको अस्पताललाई संघ मातहत ल्याउन र डा. गोविन्द केसीसँग भएको सहमति अनुसार राष्ट्रिय चिकित्सा विधेयक अघि बढाउन माग गर्दै काँग्रेसले बैठक अवरुद्ध गरेको थियो ।