हेटौँडा, १० माघ । नेपाली कांग्रेसको तरुण दस्ता नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले खड्कप्रसाद ओली नेतृत्वको सरकार दिन प्रति दिन झन् झन् निरंकुश बन्दै गएको बताउनुभएको छ । बस्नेतले प्रहरी प्रशासनलाई तरुण युवामाथि ज्यादती नगर्न चेतावनी दिनुभएको छ । ‘अनेक बहाना बनाएर तरुण युवाहरुलाई दुःख दिने काम बन्द गर्नुस् । हैन भने भोलीको दिनमा हामी पाइ–पाइको हिसाब गर्ने छौँ’– अध्यक्ष बस्नेतले भन्नुभयो ।
उहाँले सरकारले ३३ किलो सुन काण्ड जनतालाई देखाएर ३८ कुइन्टल सुन ३८ क्वीन्टल सुन लुकाउन खोजीरहेको टिप्पणी गर्नुभयो । प्रदेश नम्बर ३ को हेटौडामा आज आयोजित सरकार विरुद्धको विशाल प्रदर्शन पछि सभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले हराएको भनिएको ३३ किलो सुन खोज्न अन्यत्र होइन प्रधानमन्त्री ओली र पुष्पकमल दाहालको घरमा जानुपर्छ हराएको सुन त्यही फेला पर्छ भन्नु भएको छ । यतिखेर सदनदेखि सडकसम्म अधिनायकवादको दुर्गन्ध आइरहेकाले यसको अन्त्यका लागि तरुण दलको लडाई भएको बस्नेतको जिकिर छ ।
त्यसैगरी महासचिव भुपेन्द्रजंग शाहीले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा सभामुख हुन् जंगबहादुर जबरा भन्दै प्रश्न गर्नुभएको छ । संसदमा निस्पक्ष भुमिका निर्वाह नगरेर महराले संसदीय मुल्यको उपहास गरेको शाहीको दावी छ । उहाँले सभामुखको पछिल्लो पूर्वाग्रहपूर्ण तथा अन्यायसंगत भुमिकाको नेपाली कांग्रेसका सांसदहरुलाई संसदमा नडराई प्रतिवाद गर्न समेत अपिल गर्नुभयो ।
संसदमा प्रतिपक्षलाई लत्याएर सभामुखले दलगत स्वार्थमा स्वविवेकले निर्णय गर्न खोज्नु नै अधिनावादको नमूना भएको टिप्पणी गर्नुभयो । लोकतन्त्रको मन्दिर भनेको संसद भएकोले आफ्नो मनलाग्दी र जबरजस्ती नगर्न सभामुख महरालाई महासचिव शाहीले अनुरोध गर्नुभयो ।
त्यसैगरी तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङले सरकार नसच्चिए देशभरका तरुण युवा भेला भएर सिंहदरवार घेर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो – ‘सरकारले आफ्नो रवैया सच्याओस् हाम्रो आग्रह छ, होइन भने देशभरका तरुण उठेरकाठमाडौंमा सिंहदरबार घेर्छौं ।’
उहाँले नयाँ युगको सुरुवातसँगै ओली सरकार चमत्कारी बन्दै गएको टिप्पणी गर्दै भन्नुभयो –‘समातिएको सुन तामा हुन थाल्यो । हावा मै पानी जहाज र हावामै रेल पनि चाडैँ आउने छ ।’
गत मंगलबारदेखि तरुण दलले सरकार विरुद्ध ७ वटै प्रदेशमा विरोध प्रदर्शन गरिरहेको छ । सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महंगी, मूल्यबृद्धि, प्रेसमाथिको हस्तक्षेपसँगै वाइडबडी प्रकरण, निर्मला पन्त हत्या प्रकरणलगायतका गैर–कानुनी र अलोकतान्त्रिक क्रियाकलाप विरुद्ध तरुण दल सडक आन्दोलनमा उत्रिएको कोषाध्यक्ष गुरुङले बताउनुभयो ।
विरोध सभामा तरुण दलका नेताहरुले निर्मला पन्तका हत्यारालाई यति लामो समयसम्म पनि पक्राउ गर्न नसक्नुले सरकारका मान्छेहरु नै शंकाको दायरामा रहेको बताउनुभएको छ । वाईडवडीमा भएको भ्रष्टचार लगायतका यावत समस्याहरुमा फसिसकेकोले पनि वर्तमान सरकार असफल भईसकेको उहाँले दाबी गर्नुभयो ।
तरुण दल केन्द्रीय समितिको आयोजना नेपाल तरुण दल मकवानपुर जिल्लाको संयोजनमा भएको प्रदेश ३ को बिरोध कार्यक्रम १३ जिल्लाका तरुणहरुको सहभागीता रहेको थियो । मकवानपुर पार्टी कार्यालयबाट हजारौंको संख्यामा शुरु भएको र्याली नगर परिक्रमा गरेर सरकार विरुद्ध नारा लगाउदै बुद्ध चोक पुगेर कोण सभामा परिणत भएको थियो ।
मंगलबार प्रदेश नम्बर १ को विराटनगरबाट सुरु भएको सरकार विरुद्धको पहिलो चरणको प्रदर्शन माघ १४ गते सुदूरपश्चिमको धनगढीमा पुगेर समापन हुने बताइएको छ । तरुण दलले हिजो प्रदेश नम्बर २ को राजधानी जनकपुरमा विशाल प्रदर्शन गरेको थियो ।
तस्विरः दिनेशविक्रम शाह