

काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसले काठमाडौंमा सम्पन्न महासमिति बैठकबाट पारित भएका प्रस्तावहरूलाई अनुमोदन गर्न र पार्टीको नयाँ विधानअनुसार केन्द्रदेखि गाउँसम्मका नयाँ कार्यक्रमहरू तयार गर्न माघ १० गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । महासमिति बैठकले पार्टीको संशोधित विधानलगायत पारित भएका सवै विषयहरूलाई परिमार्जन गर्दै आएका सुझावहरूलाई समेटेर अनुमोदन गर्ने अधिकार दिएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समितिको बैठकले देशको समसामयिक राजनीतिक घटनाक्रमदेखि सरकारलाई खबरदारी गर्ने विषयमा पनि नयाँ नीतिहरू तयार गरी पारित गर्ने र कांग्रेसका सबै तहहरूमा परिपत्र पनि जारी गर्नेछ ।
यो सँगसँगै देशमा घटिरहेको राजनीतिक घटनाक्रमहरूलाई पनि समीक्षा गर्दै पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा निर्णय लिनेछ र पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । बैठकले देशको परिवर्तित व्यवस्थामा अनुसार संघीय, समावेशी र धर्म निरपेक्षतालगायत पाँचवटा मूलभूत मान्यतामा आधारित रहेर आफ्ना कार्यक्रमहरू तय गर्ने भएको छ ।
नेपालको संविधान २०७३ नेपाली कांग्रेसकै नेतृत्वमा जारी भएकाले संविधानलाई कार्यान्वयन गर्न र संघीयतालाई व्यावहारिक रूपमा कार्यान्वयनमा लाने विषयमा सरकार चुकेको ठहर गर्दै कांग्रेसले संविधानको पालना र संघीयता कार्यान्वयनका विषयमा पनि नयाँनीति तयार गर्ने भएको छ ।
बैठकले सरकारको संलग्नतामा भइरहेका ठूला भ्रष्टाचार, नेपालमा कर छली गर्दै कानुनविपरीत विदेशमा भइरहेको लगानी र सरकारले सुरु गरेको अधिनायकवादी चरित्रको भण्डाफोर गर्ने नीतिहरू सार्वजनिक गर्ने प्रवक्ता शर्माले बताए ।
सरकारका गैरकानुनी कामकारबाहीलाई निस्तेज पार्न यस्ता सरकारी नीतिको सडक र सदनबाट विरोध गर्न कांग्रेस छायाँ सरकार गठनको तयारी पनि गरिरहेको छ । बैठकले छायाँ सरकारका काम गर्तव्य र कार्यविभाजनका विषयमा पनि छलफल गरी आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।
कांग्रेसले अहिले पार्टीको संशोधित विधानअनुसार केन्द्रदेखि स्थानीय तहसम्म लानका लागि नयाँ कार्यक्रमहरू तयार गरिरहेको छ । अहिले विभिन्न नेताहरूको सहभागितामा पार्टीले यस्ता नयाँ कार्यक्रमहरूको खाका तयारी गरिरहेको छ ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि पार्टी गरेको गल्ती तथा कमी कमजोरीहरूलाई समीक्षा गर्दै महासमितिको बैठकबाट एकताका साथ देशव्यापी अभियानमा लाग्ने शीर्ष नेताहरूको निर्णयअनुसार अहिले नयाँ कार्यक्रमहरूको खाका तयार भइरहेको प्रवक्ता शर्माको भनाइ छ ।
कांग्रेसले हालै संशोधन गरेको संघीय संरचनाअनुसारको विधानलाई टेकेर केन्द्रदेखि स्थानीय तहसम्म जागरण अभियानको सञ्चालनको तयारी गरेको छ । बैठकले संशोधित विधानअनुसार केन्द्रदेखि स्थानीय तहसम्मका लागि कार्यक्रमसहितको रणनीति बनाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनले पार्टीको अब संशोधित विधानअनुसार केन्द्रदेखि स्थानीय तहसम्मको कार्यक्रमको खाका ल्याउन केन्द्रीय समिति बैठकअघि पदाधिकारीसहितको शीर्ष नेतृत्वको बैठकले कार्यक्रमको खाका बनाउने र त्यसलाई केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने बताएका छन् । कांग्रेसभित्र जनताका बीच जाने गरी कार्यक्रम ल्याउन हरेकजसो बैठकमा नेताहरूले पार्टी नेतृत्वसँग आग्रह गर्दै योजनाहरू अगाडि सारिरहेका छन् ।
महासमिति लगत्तै कांग्रेसले प्रशिक्षण र जागरण अभियान थाल्ने बताएको थियो । तर, बीचमा अरू कार्यक्रम महासमितिबाट पारित भएको विधानलाई केन्द्रीय समितिले अनुमोदन गर्न बाँकी रहेकाले ढिलाइ हुँदै आएको छ ।
पार्टीले कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानलालाई विभिन्न किसिमका प्रशिक्षण र जागरण अभियान सञ्चालन गर्न निर्देशन गरिसकेको छ । हाल नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक उपसभापति विमलेन्द्र आफैं रहेका छन् ।
केन्द्रीय समितिले महासमितिबाट पारित विधान र अन्य चार दस्तावेजलाई समेत अनुमोदन गर्ने प्रवक्ता शर्माले जानकारी दिएका छन् । बैठकले नयाँ सदस्यता वितरण अभियानबारे समेत निर्णय लिने भएको छ । महासमितिले विधान पारित गरेपछि कांग्रेसले सदस्यता वितरण सुरु गर्न लागेको हो ।
कांग्रेसको विधानअनुसार सदस्यता वितरण वडा तहबाटै हुने व्यवस्था गरिएको छ । वडा समितिले सदस्यताका लागि आवेदन संकलन गर्नेछ । कांग्रेस विधानमा पार्टीको सदस्यता पाएको एक वर्षपछि हुने नवीकरणअनुसार सदस्यतहरू स्वतः क्रियाशील सदस्य हुने व्यवस्था छ ।
केन्द्रीय समितिको बैठकका एजेन्डाका विषयमा पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई बूढानीलकण्ठस्थित आफ्नै निवास डाकेर भावी रणनीतिबारे परामर्श गरेका छन् । अहिले शीर्ष नेताहरूका बीचमा केन्द्रीय समितिको बैठक र त्यसपछि सुरु गर्ने अभियानका विषयमा अनौपचारिक छलफल पनि भइरहेको छ ।