जनकपुरको जलेश्‍वर र काठमाडौंको बानेश्‍वर जोड्ने पुल तरुण दल: अध्यक्ष बस्नेत

जनकपुरको जलेश्‍वर र काठमाडौंको बानेश्‍वर जोड्ने पुल तरुण दल: अध्यक्ष बस्नेत

जनकपुर, ९ माघ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्‍नेतले जनकपुरको जलेश्वर र काठमाडौंको बानेश्वर जोड्ने पुलको काम गर्ने एक मात्र विकल्प नेपाल तरुण दल भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘दुई तिहाइ बहुमतको भन्ने कम्युनिष्ट सरकार देशमा भएको बेला जनताले सास्ती र हैरानी खेप्नु परेको हुँदा नेपाल तरुण दलले पुलको काम गरेर जनताका समस्या समाधानमा लागि आवाज उठाउन सडकमा आएका हौं ।’

नेपाली कांग्रेसको तरुण दस्ता नेपाल तरुण दल सरकारको विरोधमा प्रदेश केन्द्रीत आन्दोलनमा केन्द्रीत भएको छ । आज तरुण दलले प्रदेश २ को जनकपुरमा सरकारको गलत प्रवृतिका विरुद्ध हजारौं युवालाई सडकमा उतार्यो । तरुण दल केन्द्रीय समितिको आयोजना र धनुषा जिल्लाको संयोजनमा जनकपुरको पार्टी कार्यालयबाट हजारौं युवाहरुको र्याली सहित नाराको साथ जुलुस भानु चोकमा गएर कोण सभामा परिणत भएको केन्द्रिय कोषाध्यक्ष विद्वान गुरुङले जानकारी दिनुभयो ।

प्रदेश २ का आठ जिल्लाका सभापतिसहितको हजारौंको संख्यामा सरकार विरोधी आन्दोलनमा सडकमा ओर्लिएको सभालाई सम्बोधन गर्दै  बस्नेतले सरकारका गतिविधि जनविरोधी भएकोले सच्चिन अवसर दिन प्रदेशबाट खबरदारी गर्ने निर्णयकासाथ आन्दोलन लिएर हिडेको बताउनुभयो ।

बस्नेतले दुई तिहाइ बहुमतको केपी ओली सरकारले मधेश जनताका मुद्धालाई बेवास्ता गरेकाे विराेधमा तरुण दल सडकमा आएकाे बताउनुभयाे । साथै उहाँले मधेशकाे पक्षमा दुई तिहाइ बहुमतको नेकपा सरकार नदेखिए पनि तरुण दल साथमा रहेकाे  बताउनुभयो । उहाँले जनताले विकासका लागि म्यान्डेट दिएर नेकपालाई जिताएको तर प्रधानमन्त्रीको अभिव्यक्ति र बहुमतको दम्भका कारण सरकारले जनताकाे अवमूल्यन गरेको बताउनुभयो । सरकारले निर्मला हत्याकाण्डको चुरोसम्म पुग्न नसकेको र डा. गोविन्द केसीका मागलाई बेवास्ता गर्दै पेलेरै अघि बढ्ने नीति लिएको बस्नेतले उल्लेख गर्नुभयो ।

उहाँले सरकार सच्चिएर अघि बढ्नुपर्ने, करको दायरा सरल बनाउनु पर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र सुशासनलाई बलियो बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सभामा कांग्रेस केन्द्रिय सदस्य आनन्दप्रसाद ढुंगाना, रामकृष्ण यादव, तरुण दलका महासचिव भूपेन्द्रजंग शाही र उपाध्यक्ष उत्तम चापागाईं लगायत आठ जिल्लाका स्थानीय नेताहरुको सहभागिता रहेको थियो । मंगलबार प्रदेश १ काे विराटनगरबाट विरोधका कार्यक्रम सुरु गरेकाे तंरुण दलले १० गते हेटौंडा, ११ गते पोखरा, १२ गते बुटबल र १३ गते सुर्खेतमा विरोध कार्यक्रम गर्ने तयारी गरेकाे छ ।

 

तस्बिर सौजन्‍य : दिनेश विक्रम शाह