काठमाडौंँ, माघ ९ गते । राष्ट्रिय गौरवका आयोजना जतिसक्दो छिटो सम्पन्न गर्न प्रधानमन्त्री कार्यालयको विशेष चासो र क्रियाशीलता बढेको छ । समृद्ध नेपाल बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य लक्ष्यलाई साकार पार्न राष्ट्रिय गौरवका आयोजनालाई छिटो सम्पन्न गर्न विशेष जोड दिइएको छ । हाल देशमा २१ वटा मुख्य आयोजना राष्ट्रिय गौरवका रूपमा सूचीकृत छन् । ती आयोजनामध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजना, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी क्षेत्र विकस कोषको काममा प्रगति देखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रधानमन्त्री युरोप भ्रमणमा रहनुभए पनि प्रधानमन्त्री कार्यालयका सचिव दीपेन्द्रनाथ शर्माले मङ्गलबार पनि हुलाकी लोकमार्ग तथा अन्य केही आयोजना प्रमुखसँग मन्त्रालयमै कामको प्रगति, देखिएको व्यवधान तथ प्रधानमन्त्री कार्यालयको तर्फबाट गरिनुपर्ने सहयोग र समन्वयबारे छलफल गर्नुभएको छ ।
सरकारले पहिलो पटक आर्थिक वर्ष २०६८/६९ बाट विभिन्न दृष्टिले महत्वपूर्ण देखिएका १७ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा वर्गीकरण गरेको थियो । २०७०/७१ मा चारवटा आयोजना थप गरी हाल २१ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरिएको छ ।
राष्ट्रिय गौरवका आयोजना मुलुकको समृद्धिसँग सरोकार राख्ने हुनाले समयमै त्यसको कार्यप्रगतिका लागि आवश्यक स्रोतको विनियोजन तथा अनुगमनमा मुख्य चासो दिइएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताउनुभयो । गौरवका आयोजनामा प्रधानमन्त्रीले पनि अधिक चासो दिनुभएकाले चौमासिक रूपमा ती आयोजनाको समीक्षा हुने गरेको उहाँले जानकारी दिनुभयो ।
विकास आयोजना र राष्ट्रिय गौरवका आयोजनालाई वर्गीकरण गरी धमाधम काम भइरहेको प्रवक्ता कुँवरले बताउनुभयो । उहाँकाअनुसार २१ वटा आयोजनामध्ये तीनवटा आयोजनाको कार्यप्रगति देखिएको छ । त्यसमध्ये माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको भौतिक प्रगति ९७ प्रतिशत र वित्तीय प्रगति ८३ प्रतिशत छ । सो आयोजनाका लागि पाँच अर्ब ७६ करोड ४० लाख बजेट समग्ररुपमा विनियोजन गरिएको भएपनि सरकारले चालु आर्थिक वर्षमा ५० करोड रुपियाँ विनियोजन गरेको छ ।
त्यस्तै, लुम्बिनी क्षेत्र विकास कोषको भौतिक प्रगति ८० र वित्तीय प्रगति पनि ८० प्रतिशत रहेको छ । कोषका लागि चालु आर्थिक वर्षमा ५७.७१ करोड रुपियाँ विनियोजन गरिएको छ । प्रवक्ता कुँवरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति १५ प्रतिशत र वित्तीय प्रगति ३० प्रतिशत पूरा भएको बताउनुभयो । त्यसका लागि चालु आवमा ६८० करोड रुपियाँ विनियोजन गरिएको छ । यसअघिको आवमा ४५३ करोड रुपियाँ विनियोजन गरिएको थियो ।
राष्ट्रिय गौरवका आयोजनाहरू सुरु भएको धेरै समय व्यतीत भइसक्दा पनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना शुरु भएको एक वर्ष मात्र भएको छ । माथिल्लो तामाकोशी सात वर्ष र लुम्बिनी क्षेत्र विकास कोषको परियोजना ३२ वर्ष व्यतित भइसकेको छ । यसअघि ती आयोजना सम्पन्न गराउने विषयमा सरकारको तर्फबाट आर्थिक र भौतिकरुपले तदारुकता र चासो नदेखिँदा आयोजनाको काममा ढिलासुस्ती भएको अधिकारीहरूको बुझाइ छ ।
राष्ट्रिय गौरवका आयोजनाको अनुगमन प्रधानमन्त्री कार्यालयबाट स्वयं प्रधानमन्त्रीले गर्ने व्यवस्थाका लागि उच्च प्रविधियुक्त मेशिनको जडान भइरहेको पनि प्रवक्ता कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी आयोजनामध्ये मेलम्ची खानेपानी आयोजनाको ८४ प्रतिशत, राष्ट्रिय चुरे संरक्षण अयोजनाको ९२ प्रतिशत कार्य प्रगति देखिएको छ ।
सरकारले सूचीकृत गरेको राष्ट्रिय गौरवका आयोजनामा सिक्टा सिचाइँ, बबई सिचाइँ, रानी जमरा कुलरिया सिचाइँ, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, मााथिल्लो तामाकोसी, बुढी गण्डकी जलविद्युत, पश्चिम सेती जलविद्युत, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।
त्यस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोष, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, हुलाकी लोकमार्ग, उत्तर–दक्षिण (कोशी) लोकमार्ग, उत्तर–दक्षिण (कालीगण्डकी करिडोर) लोकमार्ग, उत्तर–दक्षिण (कर्णाली करिडोर) लोकमार्ग, काठमाडौंँ तराई–मधेस द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम रहेका छन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ २ गते राष्ट्रिय विकास समस्या समाधान समितिको ४४ औँ बैठकमा पनि आफू माातहतका मन्त्री, प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारी तथा सदस्यहरु, सरकारका मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाल सरकारका सचिवसँग सिंहदरवारमा गम्भीर छलफल गर्नुभएको थियो । सो बैठकमा प्रधानमन्त्रीले विकाससम्बन्धी आयोजनाको कार्यप्रगति तीव्रगतिमा अघि बढाउन र जनतालाई त्यसको अनुभूति गराउन सम्बन्धित सबैलाई निर्देश गर्नुभएको थियो । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।