संसद बैठक अबरुद्ध, काँग्रेस भन्छ– ‘सरकारले दुई तिहाईको दम्भ देखायो’

संसद बैठक अबरुद्ध, काँग्रेस भन्छ– ‘सरकारले दुई तिहाईको दम्भ देखायो’

काठमाडौं, ८ माघ । संसदको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमाथि दुई तिहाईको दम्भ देखाएको भन्दै संसद बैठक अबरुद्ध गरेको छ ।

आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध पार्दै आएको छ ।
संसदको आजको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई बोल्ने समय दिनुभएको थियो । नेता सिहंले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने बताएलगत्तै काँग्रेसहरु आ आफ्नो स्थानबाट उठेका थिए ।

काँग्रेस सांसदले बेल घेर्न थालेपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटको लागि स्थगित गर्नुभएको थियो । कांग्रेसको अवरोधपछि दोस्रो पटक बसेको बैठक पनि अबरुद्ध भएको छ ।

विपक्षीको असहमतिबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई आग्रह गरेपछि कांग्रेस सांसदहरुले वेल घेराउमा पुगेका थिए । उनीहरुले मन्त्री पोखरेललाई घेरा हालेर रोष्टममा जान नदिएपछि बैठक स्थगित भयो ।