डा. गोविन्द केसीलाई छाड्ने र प्रधानन्यायाधीशका कागजात झिकाउने सर्वोच्चको आदेश (हेर्नुहोस् आदेश)

डा. गोविन्द केसीलाई छाड्ने र प्रधानन्यायाधीशका कागजात झिकाउने सर्वोच्चको आदेश (हेर्नुहोस् आदेश)

डा. गोविन्द केसीलाई साधारण तारेखमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ। आदेशमा प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र पनि झिकाउन भनिएको छ। डा. शशि शर्माको पक्षमा आएको अदालतले फैसलाको मिसिल झिकाउन पनि आदेशमा भनिएको छ। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीको स्वास्थ्यको ख्याल गरी उनलाई अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा रिहा गर्न आदेश दिएको हो।

आदेश यस्तो छ:

विपक्षीले प्रस्तुत गरेको प्रेश विज्ञप्तिमा विभिन्न कुराहरु लेख्नु भएता पनि अदालतमा बयान गर्दा न्याय सम्पादन गर्ने न्यायाधीशहरुलाई म सम्मान गर्दछु, अदालतलाई घृणा हुने अभिव्यक्ति मैले दिएको छैन,स्वच्छ आलोचना मात्र गरी अदालतलगायत समाजलाई घच्घच्याएको हुँ’भनी बयान गर्नु भएको देखिन्छ।

साथै विपक्षीको स्वास्थ्य अवस्थासमेत लाई विचार गर्दा प्रस्तुत मुद्दा पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल विपक्षी डा गोविन्द केसीलाई मुलुकी ऐन अं.चं ४७ नम्बर बमोजिम तारेखमा राखी निजको तर्फबाट बहसमा उपस्थित विद्धान वरिष्ठ अधिवक्ता डा. श्री सुरेन्द्र भण्डारीको जिम्मामा छोडी बाँकी कारबाही गर्नु। साथै निम्न अनुसार कार्य सम्पन्न गरी नियमानुसार पेश गर्नु।

१. सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासनबाट लिएका दुवै नागरिकता झिकाउनुका साथै न्याय परिषद्बाट उमेरका सम्बन्धमा भएका निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि समेत झिकाउनू।

२.निवेदक प्रा.डा. शशि शर्मा विपक्षि त्रिवि कुलपति तथा सम्माननीय प्रधानमन्त्री समेत भएको ०७०–डब्लूओ–०५७१ को मुद्दामा मिति २०७४–०९–२३ को फैसला सहितको मिसिल झिकाई साथमा राख्नू।