काठमाडौं, ८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधबीच सत्तारुढ दल राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गराउने तयारीमा रहेको बुझिएको छ ।
विधेयक आजको संसद् बैठकमा पेस गर्ने तयारी भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
हिजोको प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने योजनासहित कार्यसूचीको सातौँ नम्बरमा राखिएको भए पनि काँग्रेसको विरोधका कारण रोकिएको थियो । आजको प्रतिनिधिसभा बैठकमा सत्तारूढ नेकपा र प्रतिपक्षी काँग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेका छन् ।
काँग्रेसले मङ्गलबार संसद् बैठकअघि मध्याह्न १२ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ । काँंग्रेस नेता गगन थापाले जबरजस्ती विधेयक पारित गर्न खोजे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो ।