नयाँ मर्यादाक्रमप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे गुनासो

नयाँ मर्यादाक्रमप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे गुनासो

काठमाडौँ, ७ माघ ।  सरकारले निर्धारण गरेको नयाँ मर्यादाक्रमप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुनासो गरेको छ । 

आयोगको आज बसेको बैठकले नयाँ मर्यादाक्रमप्रति गुनासो गर्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालले आज जारी गर्नुभएको विज्ञप्तिअनुसार सरकारले हालै परिमार्जन गरेको मर्यादाक्रम निर्धारणप्रति आयोगको ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

आयोगका अनुसार संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने विभिन्न बैठकमा सदस्य रहने पदाधिकारीको मर्यादाक्रम संवैधानिक पदाधिकारीभन्दा माथि रहेको तर संवैधानिक पदाधिकारीको मर्यादाक्रम साविककोभन्दा निकै तल्लो क्रममा रहेको उल्लेख छ ।

कार्यसम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम मूल्यमान्यतासमेत प्रभावित हुने अवस्था सिर्जना हुन जाने र मनोबलमा समेत असर पर्न जाने हुँदा मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदबाट सम्पादन हुने कार्य र गरिमालाई आधार मान्न आयोगले ध्यानाकर्षण गराएको छ ।

संवैधानिक निकायका आयुक्त एवं सदस्यको मर्यादाक्रम साविकको जस्तै संवैधानिक प्रमुखको लगत्तै पछि राख्ने गरी मर्यादाक्रम निर्णयको पुनरावलोकन गर्न आयोगले सरकारसमक्ष आग्रह गरेको छ । यसअघि निर्वाचन आयोग र लोकसेवा आयोगले पनि नयाँ मर्यादाक्रमप्रति असन्तुष्टि जनाएका थिए ।  रासस