केन्द्रदेखि स्थानीय तहसम्म प्रशिक्षणको तयारीमा कांग्रेस

केन्द्रदेखि स्थानीय तहसम्म प्रशिक्षणको तयारीमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय तहदेखि प्रदेश हुँदै स्थानीय तहसम्म नै प्रशिक्षणको तयारी अन्तिम चरणमा पुगेकाे बताएकाे छ । कांग्रेसले केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानमार्फत केन्द्र र सातै प्रदेशमा प्रशिक्षणको तयारी थालेको हो । त्यसका लागि १० माघको केन्द्रीय समिति बैठकपछि खाका ल्याउने कांग्रेसको तयारी छ ।

केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय तह, सातै प्रदेश, स्थानीय तह, भातृ संगठन र शुभेच्छुक संस्थाका विभिन्न तहमा प्रशिक्षणको तयारी भएको बताएका छन् ।

कांग्रेसको पुरानो विधानअनुसार नीति तथा प्रशिक्षण प्रतिष्ठान २५ सदस्यीय थियो । तर, हालको संशोधित विधानअनुसार अब नीति तथा प्रशिक्षण प्रतिष्ठानमा ९१ जना सदस्य रहने छन् । केन्द्रीय समितिले विधानलाई पूर्णता दिएपछि सो संख्यामा रहने प्रतिष्ठानको कमिटीसमेत बन्नेछ ।

कमिटी बनेपछि खाका बनाएरै केन्द्रमा संघीय सांसद, प्रदेशमा प्रदेश सांसद र जिल्ला तह र स्थानीय तहमा रहेका नेतालाईसमेत प्रशिक्षण दिइने कांग्रेसको तयारी रहेको हो । उपसभापति निधिले प्रशिक्षणमार्फत राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली तथा अहिंसा र शान्तिका पक्षमा नीतिगत बहस पार्टीको तल्लो संरचनासम्म नै लगिने समेत स्पष्ट पारे ।

कांग्रेसले प्रशिक्षणमार्फत तल्लो तहदेखि नै कार्यकर्ताहरूलाई वैचारिक रूपमा संमृद्ध गर्ने र संगठन सुदृढीकरण गर्ने लक्ष्य लिएको हो । यस्तै, प्रशिक्षणमार्फत गत निर्वाचनमा भएका कमीकमजोरीका अनुभवलाई साटासाट गर्ने र कमजोरी सुधार्ने लक्ष्य कांग्रेसको छ । प्रशिक्षणले बलियो कांग्रेस निर्माणका लागि नेता कार्यकर्तामा ऊर्जा थप गर्ने कांग्रेस नेताहरूले बताउँदै आएका छन् । राजधानी दैनिकमा खबर छ ।