

काठमाडौं, ६ माघ । माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले पत्रकार सम्मेलन गरी मेला व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
माघ ७ गतेदेखि एक महीनासम्म चल्ने शालिनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्य, लगायतका विषयमा सम्पूर्ण तयारी पूरा भएको मूलआयोजक समितिका अध्यक्ष्ग गोविन्दबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
समितिले गएको वर्ष ३० लाख दर्शनार्थी सहभागी भएकामा वर्ष पनि सोही अनुपातमा श्रद्धालु भक्तजन आउने अपेक्षा गरिएको जनाएको छ ।
मेलामा राखिएका विभिन्न पसलबाट पसलहरुले जथाभावी पैसा लिने गरेकाले समितिले यसवर्ष बजार व्यवस्थापन तथा अनुगमनका लागि छुट्टै टोली बनाएको उहाँले जानकारी दिनुभयो ।
महानगरीय प्रहरी प्रभाग साँखुकी प्रहरी निरीक्षक लक्ष्मी खनालले मेलाका लागि ९०प्रहरी परिचाालन गरिने बताउनुभयो । सुरक्षाका लागि प्रहरी ‘हेल्प डेक्स’ राखिने र ट्राफिकको उचित व्यवस्थापन पनि गरिने जानकारी दिनुभयो ।
महीनाभर शालिनदी आउने भक्तजनका लागि पाँच/पाँच मिनेटमा साँखुबाट शहरका विभिन्न भागमा जाने सार्वजनिक यातायातको व्यवस्था गरिएको समितिले जनाएको छ । शङ्खरापुर नगरपालिका, इलाका प्रशासन कार्यालय, महानगरीय प्रहरी प्रभाग साँखु र समितिको संयुक्त बैठकले निर्माण सामग्री ओसार्ने ट्रक ट्रिपरलगायत मालबाहक सवारी साधनलाई बेलुकी पाँच बजेपछि मात्र साँखु क्षेत्रमा प्रवेश गर्न दिइने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
साँखुबाट रत्नपार्क, दक्षिणकाली, गोङ्गबु, चक्रपथ, सातदोबाटोसम्म सवारी सञ्चालन हुँदै आएको छ । मेलाभर थप सवारी साधनको व्यवस्था गरिएको समितिले जनाएको छ ।
तस्विरः रामचन्द्र दुलाल
