ठेलामा व्यापार गरेर महिनाको एक लाख कमाइ

ठेलामा व्यापार गरेर महिनाको एक लाख कमाइ

– रिपेश दाहाल-

हेटौँडा, ६ माघ। ठेलामा व्यापार गरेर महिनामा रु एक लाखसम्म कमाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ नवलपरासी घर भई हाल हेटाैँडामा ठेला किचेन चलाएर बस्नुभएका ३५ बर्षीय युवराज नेपाल ।

वैदशिक रोजगारको सिलसिलामा मलेशियामा थुप्रै हण्डर खानुभएका युवराजलाई चितवनमा कुखुरा फार्मले पनि डुबायो । फेरि दुबई जानुभएका उहाँलाई एक वर्षकोे बसाइले फेरि कहिल्यै विदेश नजाने गरी नेपाल फर्काइदियो।  उहाँको ठेला वरपर केराका परिकारसहित चटपटे, पकौडा, आलु चप, भेज मोमोलगायतका परिकारहरु खाने ग्राहकहरुको घुइँचो लागेको देख्न सकिन्छ । साइँला दाइको नामले परिचित हँसिला युवराजको वास्तविक कथा भने निक्कै नै उतारचढावले भरिपूर्ण छ।

नवलपरासीमा जन्मिएका युवराजले विदेश गएर टन पैसा कमाउने सपना देख्नुभयो । ऋणपान गरेर मलेसिया उड्नु पनि भयो । भुँइ कहिल्यै नछोड्नु भएका उहाँले बोइङ चड्दा भँुइ मात्रै छोड्नु भएन, देश, आमा, बाबा, आफन्त, साथीभाइ, स्नातकसम्मको अध्ययन सबै छाड्नु भयो । पैसा कमाउन ती सब कुरा त्याग्नु नै पर्ने थियो । धेरै नेपालीहरुले त्यागेकै थिए । हवाइजहाज चड्नु अघिसम्म पनि उहाँलाई विदेश गएर आएका नेपालीहरुको सुकिलामुकिला दैनिकीले लोभ्याइ नै रहेको थियो, विदेशमा बगाएका पसिनाको गन्ध अत्तरले पुरिएकै किन नहोस् ।

युवराजका अनुसार हवाइजहाज गुड्न थालेदेखि नै अनौठो डर, देश छोड्नु पर्दाको ग्लानि अनि, के ले हो के ले थिचेको जस्तो निस्सासिएको जस्तो अनुभूति भएको थियो । पैसा कमाउने र धनी मान्छे बन्ने सपना बिपना भन्दा धेरै गुणा चहकिलो बनेर आँखामा बसेपछि युवराजलाई तीन वर्ष मलेशिया बस्न उकुसमुकुसले छेकेन । केही पैसा कमाउनु पनि भयो । तर, त्यो पैसा पर्याप्त थिएन र कम पनि थिएन । युवराज भन्नुहुन्छ – “रातदिन अर्काको देशमा डर, चिन्ताबीच जोतिँदा मनग्ये आम्दानी गरे पनि परिवारसँगै हुन नपाउँदा साह्रै गाह्रो हुने रहेछ । त्यही भएर मलाई पनि आफ्नै देशमा आउन मन लाग्यो ।” त्यसो त तीन वर्षको अवधिमा एकपटक पनि नेपाल नफर्कनु भएका युवराजले विदेश मै हुँदा आफ्नो पिता गुमाउनुभयो । जन्मदाताको काजक्रिया गर्न नेपाल फर्कन खोज्दा कम्पनीले दिएन । “पसिना मात्र हैन दाइ मैले धेरै गाग्री आँशु पनि बगाएको छु विदेशमा,” युवराजले भावुक हुँदै भन्नुभयो ।