

काठमाडौं, ४ माघ; सरकारले हालसालै निर्धारण गरेको मर्यादाक्रमप्रति निर्वाचन आयोगले अनसन्तुष्टि जनाएको छ।
शुक्रबार बसेको आयोगको बैठकले नयाँ मर्यादाक्रममा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई सँगै नराखेको भन्दै आयोगले सच्याउन आग्रह गरेको हो ।
पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक निकायका प्रमुखलाई राज्यको मर्यादाक्रममा आठौं स्थानमा राखे पनि सदस्यहरुलाई ११औं स्थानमा राखेको छ । आयोगले आयुक्तको मर्यादाक्रम कर्मचारीको भन्दा तल राखेर अवमूल्यन गरेको दाबी गरेको छ ।
आयोगका सचिव एवं प्रवक्ता शंकरप्रसाद खरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कर्मचारीभन्दा धेरै तल राखिनुले संवैधानिक पदहरूको अपमान मात्र हुने नभइ समग्रमा संवैधानिक निकायको संस्थागत गरिमा तथा मान–मर्यादामासमेत आँच आउने आयोगले ठहर गरेको छ ।’ यो खबर Deshsanchar.com बाट लिएका हौं ।