

काठमाडौं, ४ माघ । प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी इलाममा विगत १० दिनअघि आमरण अनशन शुरु गर्नुभएका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई आज बिहान काठमाडौँ ल्याइएको छ ।
प्रा.डा. केसीलाई इलाम अस्पतालबाट राति २ बजेतिर भेन्टिलेटरसहितको एम्बुलेन्समा राखेर झापाको चन्द्रगढी विमानस्थल पुराइएको र तत्कालै नेपाली सेनाको एमआई १७ नाइटभिजन हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।
यसैगरी सोही चिकित्सा विधेयकमा कुनै संशोधन नगरी हुबहु अनुमोदन गर्नुपर्नेलगायत मागसहित इलाममै विगत आठ दिनअघि आमरण अनशन बस्न शुरु गर्नुभएका विद्यार्थी विजय थापाको स्वास्थ्य स्थिति नाजुक बन्दै गएकाले आजै ल्याउने तयारी भइरहेको बताइएको छ ।