इन्डोनेसियालाई ९२ रनले हराउदै नेपाल टी ट्वान्टी स्म्यास क्रिकेटको फाइनलमा

इन्डोनेसियालाई ९२ रनले हराउदै नेपाल टी ट्वान्टी स्म्यास क्रिकेटको फाइनलमा

काठमाडौं । नेपाल थाईल्याण्डमा जारी महिला टी ट्वान्टी स्म्यास क्रिकेटको फाईनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाईनलको खेलमा ईन्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाईनल प्रवेश गरेको हो । सन् २००७ देखि अन्तराष्ट्रिय सहभागिता जनाएको नेपाल १२ बर्षपछि सिनीयर महिला क्रिकेटको फाइनलमा पुगेको हो ।

नेपालको कसिलो बलिङसामु इन्डोनेसिया ११ ओभरमा मात्र २७ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडी धेरै समय क्रिजमा टिक्न सकेन । उसले मात्र ११ रन हुँदा पहिलो विकेट गुमाएको थियो भने ३२ रन बनाउदा ७ विकेट खेर फाल्यो । इन्डोनेसियाकी युलीयाले सर्वाधिक १३ रन बनाइन । त्यसपछि इन्डोनेसियाले अरु १६ रन जोड्दा सबै विकेट गुमायो । उसका तीन खेलाडीले खाता खोल्न सकेनन् ।

अरु खेलाडीपनि दोहोरो अंक जोड्न सकेनन । नेपालकी रुविना क्षेत्रीले तीन विकेट लिइन भने दुई खेलाडीलाई रन आउट गरिन । यस्तै कविता कुवँर, सरिता मगर, सिता रानामगर र नेरी थापाले एक एक विकेट लिइन ।

आज भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११९ रन बनायो । नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो । कजल श्रेष्ठ १४ रन बनाएर क्याचआउट भइन् । त्यसपछि क्रिजमा आएकी इन्दु वर्मा र सिता रानामगरले ७० रनको साझेदारी गर्दै नेपाली टिमलाई तीन अंकको योगफलमा पुर्याए ।

ब्यक्तिगत तर्फ सिताले अर्धशतक बनाउन दुई रनले चुकिन् । उनी ४८ रनमा रनआउट भएकी थिइन् । त्यसपछि क्रिजमा आएकी नेरी थापा पाँच रनमा क्याचआउट भइन् । इन्दु वर्मा ३७ रनमा अविजित रहिन् ।

नेपाल फाइनलमा युएई र थाइल्याण्डबीचको बिजेतासंग खेल्नेछ । प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित रहदै सेमिफाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा युएईलाई ६ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड ए लाई ९ विकेटले हराएको थियो ।

नेपाली महिला टिमले यू-१९ स्तरमा तीन पटक उपाधि जित्दै ह्रयाट्रिक गरेपनि सिनियर स्तरमा सेमिफाइनलमा भन्दा अगाडी जान सकेको छैन ।
सन् २०१३ मा थाइल्याण्डमै भएको एसीसी उमन्स च्याम्पियनसिपमा नेपाल अन्तिम पटक सेमिफाइनलमा पुगेको थियो । तर सेमिफाइनलमा नेपाल थाइल्याडसँग पराजित भएको थियो ।यस्तै महिला टी-२० विश्वकप छनोटको एशिया क्षेत्रीय छनोटमा पनि नेपाल तेस्रो नै भएको थियो

करीव १२ बर्षको अन्तराष्ट्रिय यात्रामा नेपालले पहिलो पटक फाइनलमा पुग्ने मौका हुनेछ । हाल टिममा रहेका केहि अनुभवी खेलाडीले नै सन् २००८ मा, २०१० मा र सन् २०१२ को एसीसी यु-१९ महिला च्याम्पियनको उपाधि उचाल्दै उपाधिमा ह्याट्रिक गरेको थियो । तर सिनियर स्तरमा भने नेपालले उपाधि जित्न सकेको छैन ।

यद्यपी ट्वान्टी-२० स्म्यास प्रतियोगिता आईसीसीको आधिकारिक प्रतियोगिता होइन । फागुनमा थाइल्याण्डमै हुने आईसीसी ट्वान्टी-२० विश्वकप छनोटको तयारी स्वरुप नेपालले यो प्रतियोगितामा सहभागिता जनाएको हो ।