डा. केसीलाई काठमाडौं ल्याउन नागरिक समाजको यस्ताे पहल

डा. केसीलाई काठमाडौं ल्याउन नागरिक समाजको यस्ताे पहल

काठमाडौं, ३ माघ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै ९ दिनयता इलाममा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि उनलाई काठमाडौं ल्याउन नागरिक समाजबाट पहल सुरु भएको छ ।

अनसनको नवौं दिनसम्म पनि सरकारको तर्फबाट कुनै पहल नभएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना र त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा आज इलाम गएका छन् । । डा. केसीको स्वास्थ्य अवस्था खस्किदै गएपछि काठमाडौं ल्याउने पहल गर्न इलाम गएका हुन् । डा. केसीले माने आजै हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी नागरिक अगुवाहरुको छ । सरकार र डा. केसीसंगको यसअघिको वार्ता पनि पूर्व उपकुलपति माथेमाकै पहलमा मिलेको थियो ।

यसैबीच धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएका विशेषज्ञ डाक्टरहरुको टोलीले गरेको परीक्षणमा डा। केसीको स्वास्थ्यमा विभिन्न ९ वटा समस्या देखिएको जनाएको छ । डा. केसीलाई तत्कालै आइसियू भएको अस्पतालमा सार्नुपर्ने चिकित्सकको सुझाव दिएको छ । पछिल्लो परीक्षण अनुसार डा. केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भएको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको, शरीरमा हानिकारक रसायन बढ्दै गएको लगायतका समस्या देखिएको डा. विजेन्द्रकुमार शाहले जानकारी दिए ।

सरकार र जनप्रतिनिधिहरुलाई नागरिक समाजको अपिल
१. नागरिक अभियन्ता डा. गोविन्द केसी हाल सत्याग्रहमा रहनुभएको अवस्थाप्रति हाम्रो ध्यानाकर्षण भएको छ। राज्यको इमान र विश्वसनीयता समाजका लागि संवेदनशील र महत्वपूर्ण कुरा हो। नेपाल सरकारले यस अघि डा. केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्नु सरकार तथा संसदमा प्रतिनिधित्व गर्ने दलहरूको जिम्मेवारी हो।

२. पछिल्लो सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीजीको पहल र संलग्नतामा उहाँकै निवासमा भएका वार्तापछि सम्भव भएको हो। त्यसैले, यो सम्झौताप्रति प्रधानमन्त्रीजीको व्यक्तिगत जिम्मेवारी पनि जोडिएको हामी स्मरण गराउन चाहन्छौं।

३. हाल संसदीय प्रक्रियामा रहेको चिकित्सा शिक्षा विधेयकलाई डा. केसीसँगको पछिल्लो सम्झौताबमोजिम पारित गर्न र डा. केसीको जीवन रक्षा गर्न सरकार तथा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई अपिल गर्दर्छौं।

४. सत्तारुढ दलको संसदीय नेता समेत भएको नाताले प्रधानमन्त्रीज्युले यस अघि आफ्नो निर्देशन बमोजिम डा.केसीसंग भएका सहमति र संझौताका पक्षमा आवश्यक संसदीय सहमति निर्माणमा पनि विशेष ध्यान दिनुहुनेछ भन्ने विश्वास लिएका छौं ।

हस्ताक्षरकर्ताः
१.सुशिला कार्की
२.दमननाथ ढुंगाना
३.भैरब रिसाल
४. केदार भक्त माथेमा
५. प्रा‍. डा. ध्रुव चन्द्र गौतम
६. प्रा. डा. अभि सुवेदी
७. राजेन्द्र दाहाल
८. प्रा. डा. जयराज आचार्य
९. प्रा. डा. दिल्ली देवी शाक्य
१०. प्रा. डा. मदन उपाध्याय
११. प्रा. डा. रमेशकान्त अधिकारी
१२. प्रा. डा. शेखर गुरुङ
१३. प्रा डा. वीरेन्द्र मिश्र
१४. प्रा. डा. नोबेल किशोर राई
१५. राम दयाल राकेस
१६. प्रा. डा. सरोज धिताल
१७. डा. मधु घिमिरे
१८. डा. द्वारिका ढुंगेल
१९. गीता केसरी
२०. खेमराज रेग्मी
२१. वसन्त रञ्जितकार