काठमाडौं, २ माघ । नेपाली काँग्रेसले वाइडबडी विमान खरिदको छानबिन आग्रह, दबाव र प्रभावबाट मुक्त भएर हुनुपर्ने बताएको छ ।
विमान खरिद प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाको नाम जोडिएको विषयमा समेत ध्यानाकर्षण भएको काँग्रेसले जनाएको छ । आज पत्रकार सम्मेलन गरेर प्रवक्ता विश्वप्रकाश शर्माले वाइडबडी खरिद प्रकरणमा गहिरो छानबिन हुनुपर्ने माग गर्नुभयो ।
विमान खरिद प्रक्रिया सुरु गर्दा पुष्पकमल दाहाल र विमान आउँदा केपी शर्मा ओली नेतृत्वमा सरकार रहेको काँग्रेस प्रवक्ता शर्माले बताउनुभयो । पार्टी सभापति देउवा प्रधानमन्त्री भएको बेला १९ वटा मन्त्रालय रहेको र यसबारेमा क्याबिनेट स्तरीय वा प्रधानमन्त्री स्तरीय कुनै पनि निर्णय नभएको प्रवक्ता शर्माले दाबी गर्नुभयो ।
काँग्रेसले विमान खरिद प्रकरणबारे गम्भीर छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको भन्दै उहाँले निष्पक्ष, आग्रह, दबाव र प्रभावबाट मुक्त रहेर छानविन गर्न काँग्रेसले सघाउने बताउनुभयो ।
यसैबीच, काग्रेसले अनसनरत डा गोविन्द केसीको मागप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । केसीको स्वास्थ्य अवस्था बिग्रिँदा पनि सरकार त्यसप्रति संवदेना शून्य बनेको भन्दै कांग्रेसले त्यसप्रति आफ्नो ध्यान आकृष्ट भएको बताएको हो ।