फेरि माघ १० गते सम्मका लागि थपियो नेविसंघको म्याद

फेरि माघ १० गते सम्मका लागि थपियो नेविसंघको म्याद

काठमाडौँ, २ माघ । नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिलाई माघ १० गतेसम्मका लागि यथावत राखिने भएको छ । विधान अनुसार आज रातिबाट केन्द्रीय कार्यसमिति स्वतः विघटन हुन भए पनि कांग्रेसले नैनसिंह महर नेतृत्वको केन्द्रीय कार्यसमितिलाई माघ १० गतेसम्मका लागि म्याद थपेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे बमोजिम हुने गरी हालका लागि नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राखिएको जानकारी दिए । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रबक्ता शर्माले माघ १० गते बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेबमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राख्ने निष्कर्ष निकालिएको बताए ।

गत भदौ २ गते २ वर्षिय कार्यकाल समाप्त भएपछि विधानतह नेविसंघको कार्यकाल ३ महनिा थप भएको थियो । उक्त समयावधिमा पनि महाधिवशेन सम्पन्न गर्न नसकेपछि गत मंसिर २ गते कांग्रेसले विधान परिमार्जन गरेर नेविसंघको म्याद माघ २ गतेसम्मका लागि थप गरेको थियो ।

आफ्नै नेतृत्वमा १२ औँ महाधिवेशन हुने दाबी गर्दै आउनुभएका नेविसंघका अध्यक्ष महरले केन्द्रीय कार्यसमितिबाट तीन पटक निर्णय गराएर महाधिवेशनको मिति तोके पनि हुन सकेको छैन् । पहिलो पटक गत साउन २३ देखि २५ गतेसम्म, दोस्रो पटक कात्तिक १६ देखि १८ गतेसम्म र तेस्रो पटक पुस २८ देखि ३० गतेसम्म महाधिवेशनको मिति तय भएको थियो ।

नेविसंघले महाधिवेशनको तयारी स्वरुप अहिलेसम्म ७७ जिल्लामध्ये १४ जिल्लामा मात्रै अधिवेशन सम्पन्न गर्न सकेको छ । नेविसंघको केन्द्रीय समितिमा समेत चरम विवाद रहेको छ । अध्यक्ष महर निकटका उपाध्यक्षहरू पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले गत शुक्रबार सभापति देउवालाई राजीनामा बुझाएका थिए ।

त्यस्तै ४५ सदस्यीय टोलीले आइतबार नेता रामचन्द्र पौडेललाई राजीनामा बुझाएको थियो । राजीनामा बुझाएका विद्यार्थी नेताहरु महरको नेतृत्वमा महाधिवेशन हुन नसक्ने देखिएपछि संगठनलाई निकास दिन मार्गप्रशस्त गर्न आफूहरुले राजीनामा दिएको दाबी गर्छन् ।