कांग्रेसको प्रवक्तामा युवा नेता विश्वप्रकाश शर्मा चयन

कांग्रेसको प्रवक्तामा युवा नेता विश्वप्रकाश शर्मा चयन


नेपाली कांग्रेसको प्रवक्तामा युवा नेता विश्वप्रकाश शर्मा चयन हुनुभएको छ । पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई प्रवक्तामा चयन गर्नुभएको हो ।
कांग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य शर्मालाई आज पार्टीको प्रवक्ता पदमा मनोनयन गर्नु भएको हो ।
२०७२ फागुनमा काठमाडौंमा १३औं महाधिवेशन भएपछि दुई वर्षपछि सभापति देउवाले पदाधिकारीजत्तिकै हैसियत हुने प्रवक्ता मनोनित गर्नुभएको हो । नेविसंघका पूर्व सभापति शर्मा कांग्रेसका निर्वाचित केन्द्रीय सदस्य हुनुहुन्छ ।
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आउनुभएका शर्मा कांग्रेसभित्र बौद्धिक र प्रष्ट वक्ताको रुपमा चिनिनुहुन्छ ।
२०२७ साल पुस ६ गते झापाको शान्तिनगरमा जन्मिनुभएका शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । शर्मा २०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति बन्नुभएको थियो । १० वर्षपछि २०५७ सालमा उहाँ नेविसंघको केन्द्रीय सभापति बन्न पुग्नुभयो । नेविसंघको राजनीति उहाँले २०४० सालमा ८ कक्षामा पढ्दा धुलाबारी माविको इकाइ सभापति भएर सुरु गर्नुभएको थियो । ९ कक्षामा अध्ययनरत रहँदा २०४१ सालमा उहाँ ९ महिनासम्म हिरासतमा पर्नुभयो । २०५८ सालमा पहिलोपटक नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएपछि शर्मा २०७२ सालमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।