दाउन्नेमा एकै ठाउँ ५ सवारीसाधन दुर्घटना, एक जनाको मृत्यु, ४ को अवस्था गम्भीर

दाउन्नेमा एकै ठाउँ ५ सवारीसाधन दुर्घटना, एक जनाको मृत्यु, ४ को अवस्था गम्भीर

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा ५ वटा सवारीसाधन एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। ७ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।

दाउन्नेबाट दुम्किबासतर्फ आउँदै गरेको लु ३ त ४५०० नम्बरको ट्र्याक्टरलाई ना ४ ख ६६९० नं ट्रकले ठक्कर दिँदा ट्र्याक्टरमा सवार ७ जना घाइते भएका हुन्। दुर्घटनामा विनयी त्रिवेणी–२ निवासी ५० वर्षीया भगवती कार्कीको उपचारको क्रममा मृत्यु भएको दुम्किबास प्रहरीले जनाएको छ। ट्रक र ट्र्याक्टर ठोक्किएपछि सोही सवारी साधनमा ना ३ ख ५९३६ नंको ट्रक, लु ३ च ५३२२ नंको जिप र ना ६ ख ५४२९ नम्बरको ट्रक पनि ठक्कर खाएका थिए।

दुर्घटनामा विनयी त्रिवेणी–२ ज्यामिरे निवासी ४५ वर्षीय उदय रोकाया, ४० वर्षीया मीना रोकाया, ५० वर्षीय विष्णु रेग्मी, ४० वर्षीया ज्ञानु तामाङ, ५५ वर्षीया यशोदा ढकाल, ४५ वर्षीया तुलसी परियार र ३८ वर्षीय जितकुमार पौडेल घाइते भएका छन्। घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

घाँसदाउरा गरेर ट्र्याक्टरमा दुम्किबासतर्फ फर्कंदै गरेका महिला तथा पुरुष दुर्घटनामा परेका हुन्।