आजदेखि माघी पर्व सुरु

आजदेखि माघी पर्व सुरु

काठमाडौं, ३० पुस । थारु समुदायको ठूलो पर्व माघी आजबाट सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

यो पर्वका अवसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको छ ।

माघीको आन्तरिक तयारी एक हप्ता अघिबाट सुरु गरिए पनि माघीको अघिल्लो दिन आज पुस ३० गते मासुको जोहो गरेर औपचारिक रुपमा माघीको सुरुवात गर्ने प्रचलन छ । थारु समुदायका मानिस आज रातभर मघौटा र ढुम्रा गीत गाएर नाँचगान गर्ने गर्दछन् ।

रातभर ढुम्रा गाउने थारु समुदायका मानिस भोलि बिहान नजिकैको नदी तालमा पुगेर विधि अनुसार स्नान गरि घर फर्किने गर्छन् । थारु समुदायमा माघी पर्व एक हप्तासम्म मनाउने चलन रहेको छ ।