काठमाडौं, ३० पुस । सरकारले रिक्त वडाध्यक्ष पदको उपनिर्वाचन गराउने कानुनी व्यवस्थाका लागि स्थानीय तह निर्वाचन ऐन संशोधनको प्रस्ताव ल्याएको छ । निर्वाचन आयोगले ऐन संशोधन गर्न सरकार समक्ष प्रस्ताव गरेको थियो ।
निर्वाचन कानुनमा जिल्ला समन्वय समितिका पदाधिकारी, वडाध्यक्ष तथा वडा सदस्यको उपनिर्वाचनको व्यवस्था नरहेकाले समस्या भएको आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन ऐनमा गर्न लागिएको संशोधनले वडाध्यक्षको रिक्त पद पूर्ति गर्न बाटो खुल्नेछ ।
निर्वाचन आयोगले ३६ वटा वडाध्यक्ष पद रिक्त रहेको जनाएको छ । आयोगका अनुसार देशभर चारसय १५ वडा सदस्य, दुईसय ११ महिला सदस्य र दुईसय ३८ दलित महिला सदस्य पद रिक्त रहेका छन् । त्यस्तै स्थानीय तहमा १ पद उपमहानगर प्रमूखको र एक पद गाउँपालिका अध्यक्षको पद रिक्त रहेको छ ।