

काठमाडौं, ३० पुस । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारका मन्त्री र सचिव बीचको झापड प्रकरणमा कुरा मिलिसकेको बताउनुभयो ।
घटनाको छानबिन गर्न प्रदेश सरकारले मन्त्रीको संयोजकत्वमा समिति गठन गरेका बेला मुख्यमन्त्री राउतले दुवैजनाबिचको असमझदारी मिलिसकेको बताउनुभयो । हिजो बसेको मन्त्रीपरिषद बैठकले मन्त्रीले सचिवमाथि कुटपिट गरेको विषयमा छानबिन समिति बनाएको छ ।
आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । जसमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य छन् ।
तर मुख्यमन्त्री राउतले भने कुरा मिलिसकेको बताउनुभयो । आफूले भनेका एनजिओलाई योजना नपारेको भन्दै प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले मन्त्रालयका सचिवलाई झापड हान्नुभएको थियो ।
हिजो दिउँसो मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गर्नुभएको थियो ।
उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कार्यकक्षमै बोलाएर कुटपिट गरेको सचिव झाको भनाई छ । तर मन्त्री यादवले आफूले सचिवलाई नकुटेको दाबी गर्नुभएको छ । कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो ।