अब नेविसंघको १२ औँ महाधिवेशन स्ववियु निर्वाचन पछि मात्रै

अब नेविसंघको १२ औँ महाधिवेशन स्ववियु निर्वाचन पछि मात्रै

काठमाडौं, २८ पुस । आजदेखि शुरु हुने मिति तोकिएको नेपाल विद्यार्थी संघको १२ औँ अधिवेशन अन्ततः स्ववियु निर्वाचन पछि मात्रै हुने भएको छ । विधानमा भएको व्यवस्था अनुसार तोकिएको समयमा कार्यसमितिले अधिवेशन गर्न नसकेपछि पार्टी नेपाली कांग्रेसले नै वैशाखमा सार्ने तयारी गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त कलेजलाई फागुनमा स्ववियु निर्वाचन गर्न परिपत्र गरिसकेकाले त्यसपछि मात्र अधिवेशन गर्ने नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो ।

अहिले क्याम्पसमा जाडो विदा भएकोले खुलेलगत्तै स्ववियु निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले पार्टीलाई अधिवेशन वैशाखमा सार्न अनौपचारिक प्रस्ताव गरिसकेको उहाँको भनाई छ ।

नेविसंघको विधानमा कार्यसमितिको समयावधी दुई वर्षको छ । नेविसंघ भित्रकै असन्तुष्ट पक्षले भने अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कार्यसमिति भंग गरी तदर्थ समिति बनाउनुपर्ने माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।

नेविसंघको केन्द्रीय समिति बैठकले यही पुस २८ देखि ३० गते सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

संघको विधानमा केन्द्रीय समितिको कार्यकाल २ वर्ष रहने र विशेष अवस्थामा कारण देखाएर ३ महिना म्याद थप गर्न सकिने र सोभित्र पनि महाधिवेशन नगरे स्वतः कार्यसमिति भंग हुने व्यवस्था छ । कांग्रेस केन्द्रीय समिति बैठकले सो थप मितिमा पनि अधिवेशन हुन नसकेपछि २ महिना थप्दै विघटन हुनबाट जोगाएको थियो । सो म्याद पनि माघ २ गते सकिँदैछ ।