

काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका उपाध्यक्षसहित ७ जना पदाधिकारीले पदबाट राजीनामा दिएका छन्। आज नेविसंघ उपाध्यक्ष पुष्पकुमार शाही, महामन्त्री सरोजकुमार थापा सहित ७ जना पदाधिकारीले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएका छन् ।
राजीनामा दिने पदाधिकारीहरुमा उपाध्यक्ष शाहीसहित उपाध्यक्षहरु विकास केसी र सञ्जय यादव, महामन्त्री सरोज कुमार थापा, सहमहामन्त्रीत्रय प्रकाश घिमिरे, अच्युत कलौनी र प्रेमराज जोशी रहेका छन्।
राजीनामापछि महामन्त्री सरोजकुमार थापाले वर्तमान कार्यसमितिको कार्यकाल सकिएको र तोकिएको समयमा अधिवेशन हुन नसक्ने भएकाले नैतिकताका आधारमा आफूहरुले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।
नेविसंघको केन्द्रीय समिति बैठकले यही पुस २८ देखि ३० गते सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, सो मितिमा महाधिवेशन नहुने पक्का भइसकेको छ । कांग्रेसभित्र वर्तमान कार्यसमितिको म्याद थप गर्ने कि विघटन गरेर नयाँ आयोजक समिति बनाउने भन्ने बहस शुरु भएको छ ।
संघको विधानमा केन्द्रीय समितिको कार्यकाल २ वर्ष रहने र विशेष अवस्थामा कारण देखाएर ३ महिना म्याद थप गर्न सकिने र सोभित्र पनि महाधिवेशन नगरे स्वतः कार्यसमिति भंग हुने व्यवस्था छ । कांग्रेस केन्द्रीय समिति बैठकले सो थप मितिमा पनि अधिवेशन हुन नसकेपछि २ महिना थप्दै विघटन हुनबाट जोगाएको थियो । सो म्याद पनि माघ २ गते सकिँदैछ ।