सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन

सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन

काठमाडाैं, २५ पुस । सभामुख कृष्णबहादुर महराले सार्वजनिक महत्वको वक्तव्य दिएपछि सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख महराले संसद नियमावलीको धारा २१९ को उपधारा १ र २ बमोजिम सांसदले प्रश्न सोध्ने अधिकार सुरक्षित गर्न सरकारलाई जवाफ दिन निर्देशन दिनुभएको हो ।

त्यसअघि, बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमूख सचेतक बालकृष्ण खाँणले सार्वजनिक महत्वको विषयमा प्रधानमन्त्री र मन्त्रीहरुले वक्तव्य दिएपछि सांसदले उठाएको प्रश्नको जवाफ नदिने अवथा भए, आगामी दिनमा संसद अवरुद्ध गर्ने चेतावनी दिनुभयो । प्रमुख सचेतक खाँणले प्रतिपक्षीले अवरोध गर्दागर्दै संसद चलाउनु संसदीय मर्यादाको विपरीत रहेको भन्दै आफूहरुको माग पूरा नभए संसद चल्न नदिने बताउनुभयो ।

बैठकमा राष्ट्रिय जनता पार्टी नेपाल संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले मधेस–थरुहट आन्दोलनमा भएको दमनका दोषीहरु छानबिन गर्न गठित गिरिशचन्द्र लाल समितिको प्रतिवेदन तत्काल सार्वजनिक नगरे सरकारविरुद्ध प्रस्तुत् हुने चेतावनी दिनुभयो ।

आजको संसद बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ प्रस्तुत् गर्नुभएको छ । यस्तै, बैठकले प्रशासकीय अदालत विधेयक, २०७५ र केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

यसैबीच प्रतिनिधिसभाको बैठकले जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रतिनिधिसभाको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत् गर्नुभएको थियो । मन्त्री खनालले सांसदका जिज्ञासाको जवाफ दिँदै विधेयकमा विषादी व्यवस्थापनका लागि एकद्वार प्रणालीको व्यवस्था गरिएको बताउनुभयो ।