नेपाल-फ्रान्स परामर्श बैठक आज

नेपाल-फ्रान्स परामर्श बैठक आज

काठमाडौं, २५ पुस । नेपाल–फ्रान्स परामर्श बैठक आज हुँदैछ । दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा हुन लागेको उक्त बैठकमा भाग लिन फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तानको नेतृत्वमा पाँच सदस्यीय फ्रान्सेली प्रतिनिधिमण्ड आज नै नेपाल आइपुग्ने छ ।

फ्रान्सका विदेश सचिव आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीको निमन्त्रणामा आज अपराह्न राजधानी आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा दुई देशबिचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने तथा पारस्परिक हित र लाभका समग्र विषयमा विचार विमर्श हुनेछ । परामर्श बैठकमा ऊर्जा, व्यापार, पर्यटन, शहरी विकास, सूचना तथा सञ्चार, जलवायु परिवर्तन, संस्कृतिलगायत विषयमा छलफल हुनेछ ।

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७० औँ वर्ष प्रवेश आगामी अप्रिल २० तारिखमा मनाइनेछ । बैठकमा अर्थ, उद्योग र वाणिज्य, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् ।