काठमाडौँ, २५ पुस । सन् २०१८ मा करिब १२ लाख पर्यटकले नेपालको भ्रमण गरेका छन् । यो कुनै एउटा वर्षमा नेपाल भित्रिएकामध्ये सबैभन्दा धेरै सङ्ख्या हो । अध्यागमन विभागका अनुसार सन् २०१८ भर ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आएका थिए । तीमध्ये नौ लाख ६९ हजार २८७ जना हवाईमार्ग र बाँकी दुई लाख तीन हजार ७८५ स्थलमार्ग हुँदै भित्रिएको विभागको तथ्याङ्क छ । यो सङ्ख्या सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतले बढी हो ।
यस अवधिमा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् । तथ्याङ्क अनुसार सन् २०१७ को तुलनामा भारतीय पर्यटकको सङ्ख्या २५.१ प्रतिशतले बढेर दुई लाख ४३८ पुगेको छ । वृद्धिदरको हिसाबले सबैभन्दा धेरै श्रीलङ्काली पर्यटकले नेपाल भ्रमण गरेको पाइएको छ । tourist
अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा ५५.७ प्रतिशतले सो देशका पर्यटकको सङ्ख्या वृद्धि भएर ७० हजार ६१० पुगेको विभागले जनाएको छ ।
सार्क क्षेत्रभरबाट उक्त अवधिमा २६.४ प्रतिशतले पर्यटकको सङ्ख्या बढेर तीन लाख एक हजार ९६३ पुगेको छ । सङ्ख्यात्मक हिसाबले भारतपछि चीनबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । सन् २०१७ को तुलनामा ४६.८ प्रतिशतले चिनियाँ पर्यटक वृद्धि भई एक लाख ५३ हजार ६०२ पुगेको छ । पर्यटक आगमनको हिसाबले तेस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट ९१ हजार ७८५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । चौथो स्थानमा श्रीलङ्का रहेको छ ।
पाँचौँ स्थानमा रहेको बेलायतबाट ६३ हजार ८६ जना पर्यटक भित्रिएका छन् । थाइल्यान्डबाट ३६ प्रतिशत, दक्षिण कोरियाबाट ८.३ प्रतिशत र जापानबाट नेपाल आउने पर्यटकको सङ्ख्या ८.९ प्रतिशतले बढेको विभागले जनाएको छ । युरोपेली पर्यटकको कुल सङ्ख्यामा २३.३ प्रतिशतले वृद्धि भई दुई लाख ४३ हजार २८४ पुगेको छ ।