काठमाडौं, २४ पुस । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले दुईवटा फराकिलो स्वरूपका जहाज खरिदमा अनियमितता हुँदा आफ्नो कुनै संलग्नता नरहेको दावी गर्नुभएको छ ।
अहिलेसम्मका कामको विवरण सुनाउन भन्दै हिजो बिहान पत्रकार सम्मेलन गरेर मन्त्री अधिकारीले प्रष्टिकरण दिनु भएको थियो । हिजो नै सिंहदरबारमा लेखा समितिको बैठक बसेर जहाज खरिद प्रकरणमा अनियमितताको आरोपमा कारबाहीको सिफारिस गरेको छ ।
जहाज खरिदको निर्णय, प्रकिया र भुक्तानीमा पूर्वमन्त्री जीवनबहादुर शाही, जितेन्द्र देव र बहालवाला मन्त्री अधिकारीको नैतिक संलग्ना देखिएको र कानुनसम्मत अनुसन्धान गर्न सरकार र अख्तियारलाई सिफारिस गर्ने निर्णय भएको लेखा समिति सभापति भरत शाहले जानकारी दिनुभयो ।
लेखा समिति मातहतको उपसमितिले यसअघि पर्यटनमन्त्री अधिकारीलाई प्रमुख दोषी रहेको निष्कर्ष निकाले पनि सच्याएर नैतिक जिम्मेवार भनिएको छ ।
तत्कालिन सचिव शंकरप्रसाद अधिकारी र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई भने हदैसम्मको कारबाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिइएको छ । पर्यटन सचिव प्रेमकुमार राईले भने सफाइ पाउनुभयो ।