काठमाडौंः कार्य सम्पान मूल्यांकन (कासमू) किर्ते अभियोग लागेका पूर्व डिआईजी एवम् ललितपुर क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई पक्राउ गर्न प्रहरीले उदासिनता देखाएको छ ।
सर्वाेच्च अदालतले कासमू किर्तेमा सहभागी सबैलाई छानविनको घेरामा ल्याएर दोषीलाई कारवाही गर्न सरकारका नाममा आदेश दिएपछि हनुमानढोका प्रहरीले सिलवाललाई पक्रन ललितपुर प्रहरीलाई पत्र लेखेको थियो । तर ललितपुर प्रहरीले भने सिलवाललाई पक्राउ गर्न चासो दिएको छैन । पत्र पाएकै दिन गोदावरीस्थित सिलवालको घर पुगेको प्रहरी रित्तै हात फर्किएको थियो । घरमा सिलवाल नभएको भन्दै फर्किएको ललितपुर प्रहरीले त्यसपछि उनको खोजी गरेको छैन । सिलवाल मलेसियामा रहेको बताइए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा उनको रेकर्ड फेला नपरेको अध्यागनले जनाइसकेको छ । उनी मलेसियामा सहभागी भएको भनिएको कार्यक्रम पनि नरहेको पुष्टि भइसकेको छ । सिलवाल पक्राउ पर्ने डरले उपत्यकाबाहिर रहेको चर्चा चले पनि प्रहरीले भने यस बारे कुनै प्रतिक्रिया दिएको छैन भने उनलाई पक्राउ गर्ने बारे पनि चासो नदिएको ललितपुर प्रहरीका एक अधिकृतले बताए ।
आइजी बढुवामा सिलवालले किर्ते गरेको यसअघि नै प्रहरीको छानविनले पुष्टि गरिसकेको छ । सिलवालले पेश गरेको कासमू र सरकारले सर्वाेच्च अदालतमा बुझाएको कासमूमा अंक फरक परेको थियो । दोस्रो बरियतामा रहेका सिलवालले अतिगोप्य मानिने कासमू फाईल बाहिर ल्याएर आफ्नो अंक बढाएर पहिलो बनाएका थिए । अति गोप्य फाईल सिलवालले कसरी बाहिर ल्याए भन्ने अर्काे चर्चाको विषय बनेको छ । सर्वाेच्च अदालतले यसलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारका नाममा फैसला गरेको छ ।