काठमाडौँ, २१ पुस । पौष कृष्ण आमावास्याका दिन शनिबार पितृतृप्तिका लागि विभिन्न तीर्थस्थलमा गई वैदिक सनातन धर्मावलम्बीले श्राद्ध गरी मनाउँदैछन् । वैदिक धर्मशास्त्रका विभिन्न ग्रन्थमा शनिबार कुनै नदी उत्तरबाहिनी भएको स्थान, गया, पवित्र तीर्थस्थलमा गई तर्पण, सिदादान र पिण्डदान गरेमा पितृतृप्ति हुने उल्लेख गरिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले जानकारी दिए ।
विशेषगरी राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, बेत्रावती, देवघाट, त्रिवेणी, रिडीलगायत नदी किनारमा यही कामनाले पितृप्रति श्रद्धाभाव प्रकट गर्ने भक्तजनको भीड लाग्छ ।
यसै अवसरमा गोकर्णेश्वर उत्तरगयामा गङ्गा आरती सुरु भएको वर्ष दिन पुगेको अवसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । गत वर्ष पौष कृष्ण आमावास्याका दिनदेखि आरती सुरु गरिएको जनाइएको छ ।
के हो ? श्राद्ध …
सनातन हिन्दू संस्कारमा चान्द्रमास आश्विन महिनाको पूर्वार्द्धको पूरै पन्ध्र दिनलाई पितृपक्ष भनी उक्त अवसरमा दिवङ्गत भएका आफन्तको श्राद्ध गर्ने परम्परा छ । दिनगणनामा एउटा सामान्य पक्ष पन्ध्र दिनको हुने गर्दछ, तथापि यस अवधिलाई सामान्य जनबोलीमा सोह्रश्राद्ध भन्ने गरिन्छ ।
श्राद्ध आफ्ना मृत पूर्वजहरू प्रति गरिने श्रद्धाको प्रतीक हो । पितृहरूलाई लक्षित गरी विधिपूर्वक जुन कर्म श्रद्धापूर्वक सम्पन्न गरिन्छ, त्यसैलाई ‘श्राद्ध’ भन्ने गरिन्छ । सनातन संस्कृतिमा प्रत्येक शुभ कर्मको प्रारम्भमा माता-पिता र पूर्वजहरूलाई आदर, सम्मान, प्रणामादि गर्नु परम कर्तव्य मानिन्छ । पूर्वजहरूको वंशपरम्पराका कारणले नै हामीले यो जीवनको अस्तित्व ग्रहण गर्न पाएका छौं अनि जीवनको अनुभूति र आनन्दको भोग गर्न पाएका छौं । हाम्रो सनातन धर्ममा मन्त्रद्रष्टा ऋषिहरूले वर्षभरिका विभिन्न पक्षमध्ये एउटा पक्षलाई पितृपक्ष भनी उल्लेख गरे, अनि उक्त पक्षको आगमन हुँदा हामी आफ्ना दिवङ्गत पितृ तथा दिव्य पितृहरूलाई श्राद्ध र तर्पणादि कर्म र तिनको उद्धारका निमित्त विभिन्न धर्मकर्म सम्पन्न गर्ने गर्दछौं । यी र यस्तै तरिकाले दिवङ्गत मृतात्माको तुष्टि र उद्धारका लागि गरिएका हरेक प्रयासलाई नै ‘श्राद्ध’ भन्ने गरिन्छ । ‘श्राद्ध’ शब्दको निर्माण ‘श्रद्धा’ शब्दबाट भएको हो, यस शब्दमा ‘अङ्’ प्रत्यय लागेर श्राद्ध शब्दको रचना हुन्छ । यसको सामान्य अर्थ हुन्छ – ‘आस्तिक बुद्धि । ‘श्रत्सत्यं दधाति यया क्रियया सा श्रद्धा’ अर्थात् जसमा सत्य प्रतिष्ठित छ, त्यही श्रद्धा हो ।