चीनको पूर्वी तटपारि दुर्घटना: ‘३२ जना बेपत्ता’

चीनको पूर्वी तटपारि दुर्घटना: ‘३२ जना बेपत्ता’

तेल बोकेको पानीजहाज र मालसामानसहितको ‘कार्गो’ पानीजहाज चीनको पूर्वी समुद्री तटपारी आपसमा ठोक्किँदा ३२ जना हराइरहेका छन्।

पानामामा दर्ता ‘द सान्ची’ नामक पानीजहाजले इरानबाट १ लाख ३६ हजार टन इन्धन ल्याएको थियो। दुर्घटनामा परेको पानीजहाज इरानबाट दक्षिण कोरिया जान लागेको बताइएको छ। दुर्घटनापछि आगो लागेको छ।

उद्धार

चीनको यातायात मन्त्रालयले हराइरहेका मानिसहरु उक्त जहाजको चालक दलका सदस्य रहेको बताएको छ।

३० जना इरानी र दुई जना बांग्लादेशी रहेको जनाइएको छ।

‘कार्गो’ पानीजहाजमा चालक दलका २१ सदस्य थिए र उनीहरु सबैजनाको उद्धार गरिएको चीनले बताएको छ।

मन्त्रालयले भनेको छ, “सान्ची पानीमाथि तैरिरहेको छ र त्यसमा आगो लागिरहेको छ। तेल चुहिएको छ र हामी उद्धार कार्यमा अगाडि बढिरहेका छौं”।

उक्त दुर्घटना सांघाई नजिक भएको बताइएको छ।

खोज तथा उद्धारका लागि आठवटा चिनियाँ पानीजहाज खटिएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ।

दक्षिण कोरियाले पनि तटरक्षकहरुको एउटा जहाज र हेलिकप्टर सहयोगका लागि पठाएको बताइएको छ।