काठमाडौंको तापक्रम शून्यमा झर्‍यो, जाडो अझै बढ्ने

काठमाडौंको तापक्रम शून्यमा झर्‍यो, जाडो अझै बढ्ने

काठमाडौं उपत्यकामा शनिबारभन्दा आइतबार १.६ डिग्री तापक्रम घटेको छ।  शनिबार उपत्यकाको न्यूनतम तापक्रम १.६ थियो भने आइतबार बिहान शून्य डिग्री सेल्सियस पुगेको छ।

देशभरि बादल नलागेको र उत्तर पश्चिमबाट आएको हावाले तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए।

‘अझै बादल लाग्ने वा कुनै मौसम प्रणाली आउने सम्भावना छैन, तापक्रम अझै घट्ने सम्भावना छ, माइनस पनि हुन सक्छ,’ पौडेलले भने।

महाशाखाका अनुसार पोहोरको हिउँदमा काठमाडौंको तापक्रम ०.४ डिग्री पुगेको थियो।

काठमाडौंमा सन् १९७८ जनवरी ११ मा तापक्रम –३.५ डिग्री पुगेको थियो।

चिसो बढेसँगै देशको तराई क्षेत्रमा शितलहर चलेको छ। त्यहाँ दिउँसो घाम नलाग्ने भएकाले तराईको अधिकतम् तापक्रम १० डिग्रीभन्दा बढ्न नसकेको महाशाखाले जनाएको छ।