एजेन्सी । नेपालकाे क्रिकेटकाे मुख्य निकाय नेपाल क्रिकेट संघ निलम्बनमा परिरहेका बेला नेपाली क्रिकेटको सबै कामकाज हेर्दै आएको आईसीसीले बर्गिकरणमा रहेका क्रिकेट खेलाडीकाे दुई वर्षदेखि रोकिएको मासिक तलब दिने भएकाे छ ।
तलबका विषयमा आईसीसीले राष्ट्रिय खेलकुद परिषदकाे सहकार्यमा तलव दिन लागेकाे हाे । उसले परिषद्लाइ इमेल मार्फत खेलाडीकाे २ महिनाकाे तलव दिन स्विकार गरेकाे छ । खेलाडी तथा परिषदकाे बारम्बारकाे अाग्रहमा आईसीसी तलव दिनका लागि राजि भएकाे हाे । यसकालागि आईसीसीले राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लसँग परामर्स गरी खेलाडीकाे नयाँ बर्गिकरण गरेकाे थियाे ।
जसमा ए, बी र सी तीनै श्रेणीमा सात/सात लाई समावेश गरिएको थियाे। ए श्रेणीमा पर्ने खेलाडीले मासिक ३५ हजार, बी श्रेणीका खेलाडीले मासिक २५ र सी श्रेणीका खेलाडीले १५ हजार रुपैयाँको हिसाबले दरले पछिल्लो दुई वर्षको तलब पाउनेछन्।
त्यसमध्ये ए श्रेणीमा कप्तान पारससहित, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, र दीपेन्द्रसिंह ऐरी रहेका छन्।
बी श्रेणीमा रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, र शक्ति गौचन रहेका छन् । सी श्रेणीमा सुशन भारी, किशोर महतो, सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला र विनोद भण्डारी रहेका छन्।
ए श्रेणीका खेलाडीले पछिल्लो दुई वर्षको एकमुष्ट आठ लाख ४० हजार पाउनेछन्। बी श्रेणीका खेलाडीले ६ लाख र सी श्रेणीका खेलाडीले तीन लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन्। खेलाडीले सन् २०१८ सम्मकाे तलव पाउने भएका छन ।
आईसीसीको निलम्बनमा पर्नुअघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन सुरु गरेको थियो। तर क्यान निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकिएको थियो। आईसीसीले गत सन् २०१७ को जुलाईमा खेलाडीलाई अघिल्लो एक वर्षको तलब दिएको थियो। याे खबर नेप्लेज डट कमबाट लिएका हाैँ ।