काठमाडौँ, १८ पुस । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पद तथा गोपनियताको शपथ लिनुभएको छ । शितल निवासमा आज एक समारोहबीच जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिनुभएको हो ।
उहाँलाई हिजो मात्र संसदीय सुनुवाइ समितिले सर्वसम्मतले अनुमोदित गरेको थियो । संविधानको धारा १२९ उपधारा २ मा ‘संवैधानिक परिषदको सिफारिसमा प्रधानन्यायाधीशको र न्याय परिषदको सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने’ व्यवस्था छ । यो धाराको उपधारा ३ मा ‘सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुने’ व्यवस्था छ ।
को हुन् जबरा ?
२०१४ मंसिर २८ गते जन्मेका जबरा २०३६ मंसिर ६ देखि कानुन व्यवसायमा प्रवेश गर्नुभएको हो । २०३९ सालदेखि २०४९ सम्म तत्कालीन काठमाडौं नगरपञ्चायतको कानुनी सल्लाहकार रहनुभएका जबरा २०५२ को चैत मसान्तसम्म कानुन व्यवसायमा सक्रिय हुनुहुन्थ्यो । त्यसपछि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त हुनुभयो ।
पुनरावेदन तहमा रहँदा ४ हजार ५ सय मुद्दा फैसला गर्नुभएका उहाँले २०७१ जेठ १३ गते सर्वोच्चमा न्यायाधीश भएपछि हालसम्म ६ हजार ४३८ मुद्दा फर्स्योट गर्नुभएको छ ।
प्रधानन्यायाधीश जबराको सामुन्ने सर्वोच्च अदालतमा खुलेआम भइरहेको बेन्च सपिङ संस्कृति अन्त गर्ने सबैभन्दा ठूलो चुनौति छ । करछली, भ्याट फिर्ता, सरकारी जग्गा जमिन व्यक्तिको नाममा गर्ने धेरै पैसाको चलखेल हुने मुद्दाको फाइल धमाधम खुलिरहेका छन् । चिनिएका बिचौलियाहरु इजलास किन्ने भन्दै हिँडेका छन् । अहिले सरकारी वकिलले कतिपय त्यस्ता मुद्दा ती खाले इजलासबाट हटाइरहेका छन् । उहाँको सामुन्ने राज्यको सम्पत्ति जोगाउने चुनौति छ । अहिले अदालतमा भइरहेको ‘स्थायी इजलास’को अभ्यास र बेञ्च सपिङप्रति जबराको चिन्ता गोहीको आँशुमात्र होइन भने एक महिनापछि उहाँ हरेक दिन परीक्षणमा हुनेछन् ।
२०१४ मंसिर २८ गते जन्मिनुभएका जबरा २०७१ जेठ १३ देखि सर्वोच्च अदालतमा न्यायाधीश हुनुहुन्थ्यो ।