काठमाडौं, १७ पुस । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर जबराको नाम अनुमोदन भएको छ ।
प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समिति बैठकले अनुमोदन गरेको हो । समिति सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीशमा संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको जानकारी दिनुभयो ।
यसअघि आइतबार पनि प्रधानन्यायाधीशमा सिफारिस जबराको सुनुवाइ भएको थियो । बैठकमा जबराले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । सांसदले उठाएका विगतमा गरेका फैसलामा आधारित प्रश्नमा जबराले कानुन बमोजिम गरेको र कानुन बाहिर गएर कुनै पनि काम नगरेको जवाफ दिनुभयो ।
उहाँले आफू प्रधानन्यायाधीश भएपछि सरकारले कानुन अनुसार गर्ने विकासका काममा न्यायालयबाट बाधा हुने फैसला हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँको नाम सर्वसहमतिमा अनुमोदन भएको हो ।